प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले कामभन्दा बढि हल्लाखल्ला गरिरहेको आरोप लगाएका छन् । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कबाट आज (शुक्रबार) विहान प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् । पत्रकार धमलाले देशको अर्थतन्त्र तहसनहस हुन्छ अब ? भनेर सोधेको प्रश्नमा डा. महतले भनेका छन्–‘देशको अर्थतन्त्रमा नोक्सान त एकदम भएको छ । सरकार यसमा असफल भएको छ । खाली हल्लाखल्ला सरकारले बढी गर्छ । नोक्सान अहिले भईरहेको छ ।’ प्रस्तुत छ डा. महतसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
देशमा महामारी, संकट छ अनि कांग्रेस त सुतेर बसिरहेको छ नि ?
महामारी, संकटमा सुतेर कांग्रेसले होइन यो काम सरकारले गर्नुपर्ने हो । यसलाई सुधार गर्नुपर्ने, सुतेर त अब सबै सुतेर बसिरहेका छन् नि । यो महामारीले गर्दाखेरि सबै घरमा नै सीमित भएर बस्ने, निषेधाज्ञा छ जताततै त्यसले गर्दा अवस्था यस्तो छ ।
जनताले खान पाएका छैनन् । भोकभोकै जनताहरू बसिरहेका छन् । मजदुरहरूले खान पाएका छैनन् । रोजगारी पाएका छैनन् । त्यतातिर किन ध्यान जाँदैन तपाईहरुको ?
रोजगारी चलाउने भन्ने प्रतिपक्ष र विद्यार्थीले होइन । विद्यार्थीले अध्ययन गर्नुपर्छ । विद्यालय अहिले बन्दको अवस्थामा छ । त्यसकारण यसमा प्रतिपक्षले भन्दा पनि गर्नुपर्ने त सरकारले हो नि । जहाँ जहाँ भोकभोकै छन्, जहाँ आर्थिक अवस्था राम्रो छैन, त्यसको सूचना चाहियो ।
सत्तापक्ष र प्रतिपक्षका विद्यार्थी युवाहरू अहिले कहाँ छन् ?
युवाहरू जहाँ पनि कराइरहने होइन । युवाहरूले पेशामा पनि लाग्नुपर्छ । अध्ययनमा पनि लाग्नुपर्छ । जहाँ जहाँ अन्याय छ, त्यहाँ आवाज उठाउनुपर्छ । अहिले तेलको भाउ बढाएको कारणले आवाज अलिअलि उठाइरहेका छन् ।
नेपालमा २० लाख श्रमिकले रोजगारी गुमाए । अवस्था त झनै भयावह हुँदैछ नि ?
नेपालमा २० लाखले गुमाए होलान्, अन्त करोडौँ, अरबौँले गुमाइसकेका छन् । यो अहिलेको समस्या के भनेदेखि महामारीको कारणले गर्दाखेरि हो । अहिले वर्षाको कारणले प्राकृतिक प्रकोप बाढी/पहिरोले पनि धेरै जनधनको क्षति गरेको छ । त्यो कुरा त विचार गर्नुपर्छ ।
त्यसो भए देशको अर्थतन्त्र तहसनहस हुन्छ अब ?
देशको अर्थतन्त्रमा नोक्सान त एकदम भएको छ । सरकार यसमा असफल भएको छ । खाली हल्लाखल्ला सरकारले बढी गर्छ । नोक्सान अहिले भईरहेको छ ।
अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिँदै हुनुहुन्छ, उहाँको कार्यकाल राम्रो रह्यो ?
यो सरकारको काम, गतिविधि राम्रो भएको छैन भनेर मैले पटक—पटक आवाज उठाइरहेको छु । व्यक्तिगत रूपमा फलानो यस्तो उस्तो भन्ने मेरो चलन छैन । तर समग्रमा सरकारले जे जे गल्ती गरेको छ, ती गल्ती यो यो गरेको छ भनेर मैले भनिरहेको छु । सरकारले बजेट प्रस्तुत गर्दा त्यसमा मैले विचारहरू राखेको छु ।
अब कांग्रेस जाग्ला त ? अहिले त सुतेर बसिरहेको छ नि ? कांग्रेसको अवस्था एकदमै कमजोर देखियो, तपाई के भन्नुहुन्छ ?
कांग्रेसको नेतृत्वले नै गुटबन्दी गराईरहेको छ । महाधिवेशनको तयारीको लागि हामी लाग्नुपर्छ । निष्पक्ष ढंगले जानुपर्नेमा कांग्रेसको नेतृत्व नै व्यक्तिको पक्षलाई कसरी बलियो बनाउने भन्ने कुरामा विधिको विपरीत नै कतिपय गतिविधिहरू भईरहेको छन् । सदस्यता पनि जथाभावी बाँड्ने प्रवृत्ति देखिन्छ । विभिन्न प्रकारका अवैधानिक कामहरूमा विभागहरू बनाउने काम भएको छ । त्यसको आवश्यकता पनि थिएन । यो अवैधानिक पनि हो । विभिन्न मान्छेलाई नियुक्त गरेपछि मलाई समर्थन गर्लान् भन्ने कुरा आएको हो । उनीहरूलाई दुरूपयोग गरिएको हो । जसलाई नियुक्त गरिएका छन्, यो विभागहरूमा उनीहरूको अवैधानिक रूपमा दुरूपयोग गरिएको हो । समितिमा यत्रो विरोध हुँदाहुँदै पनि महाधिवेशन गर्नुपर्ने समयमा अरूलाई पक्षमा ल्याउँछु भनेर यो गरिएको हो । File Photo