Logo

मृतक १३ जनाको सनाखत, २४ जनाको अवस्था अझै अज्ञात



बागलुङ, २० भाद्र । बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९, बोवाङ्गको भुजीखोलाले तटीय बस्ती बगाउँदा मृत अवस्थामा फेला परेका १३ जनाको सनाखत भएको छ । एक जनाको पहिचान हुन सकेको छैन भने २४ जना बेपत्ताको अवस्था अझै अज्ञात छ ।

बाढीले बस्ती बगाउँदा बिहीबार मृत फेला परेकामध्ये बोवाङ्गका ३१ वर्षीय प्रेम पुन, २६ वर्षीय जीवन विक, ११ वर्षीय मदन विक, छ वर्षीय विराज विक, ४६ वर्षीय करबहादुर विक, ११ वर्षीय डल्ले विक ‘दलु’, ३१ वर्षीया रिमकुमारी घर्तीको पहिचान भएको इलाका प्रहरी कार्यालय बूर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक भण्डारीका अनुसार २६ वर्षीया केशमाया विक, २३ वर्षीया डिलमाया पुन, १३ वर्षीया पुनी विक, ६५ वर्षीया डोटी पुन, ३३ वर्षीया डिलमाया विक र ३२ वर्षीयन सीता बुढा ९करमति० को पहिचान भएको हो । सनाखत भएको शव परिवार तथा आफन्तले बुझेका छन् ।

अविरल वर्षासँगै बुधबार राति खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा ठूलो मानवीयसँगै भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आठ जना महिला र छ जना पुरुषको शव फेला परेको थियो ।

भुजीखोलाको ढोरपाटन नगरपालिका ५, ६, ७, ८ र ९ को तटीय क्षेत्रमा रहेका ८० घर पूर्ण, ५१ घर आंशिक, ११ लघु जलविद्युत, एक स्वास्थ्यचौकी भवन, ११ झोलुङ्गे पुल, पाँच वटा ढलान पुल, १० वटा काठे पुल र दुई विद्यालय क्षति गरेको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले जानकारी दिनुभयो ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तथा जिल्ला सदरमुकामबाट घटना स्थल, भुजीखोला आसपास बिहीबार र शुक्रबार खोजी गर्दा पनि बेपत्ता फेला पर्न कठिन भएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताउनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्