Logo

बागलुङ बाढी पहिरोः मृतकको पहिचानमा कठिनाइ, आठ जनाको सनाखत



बागलुङ, भदौ २० । बागलुङको भुजीखोलाको बाढीले तटीय बस्ती बगाउँदा १४ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ढोरपाटन नगरपालिका–५ पेङखोलामा बाढीले बस्ती बगाउँदा २३ वर्षीया दिलमाया पुन र उनका श्रीमान् दर्शन पुन, लाकुरीबोटका करबहादुर विक र उनका ९ वर्षीय छोरा दलु विकको मृत्यु भएको छ । उनीहरूको शव घरनजिकैको खोलामा फेला परेको थियो ।

यसैगरी, भट्टेचौरकी २६ वर्षीया केशमाया विक, २६ वर्षीय जीवन विक, ३१ वर्षीया रिमकुमारी घर्ती र उनका श्रीमान् धु्रव घर्तीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए ।

भुजीखोलाको बाढीले बस्ती बगाउँदा बेपत्ता भएकामध्ये ८ जना महिला र ६ जना पुरुषको शव फेला परेको हो । शव क्षतविक्षत् अवस्थामा फेला परेकाले अन्य ६ जनाको सनाखत हुन सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, जिल्ला सदरमुकामदेखि गएका युवाहरूले बिहीबार दिनभर र शुक्रबार साँझसम्म बेपत्ताको खोजी गर्दा पनि थप बेपत्ता भेटिएका छैनन् ।

बाढीले बगाउँदा बेपत्ता भएका ४१ जनामध्ये ३ जना सकुशल सम्पर्कमा आएको र २४ जनाको अवस्था अज्ञात रहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्