Logo

कोभिडको कारणले कोही पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस् : मन्त्री पोखरेल



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले कोभिडको कारणले कोही पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस भनेर सरकार लागिरहेको र सोहीअनुसार मन्त्रालयले कार्यक्रम बनाइरहेको स्पष्ट पारेका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा उनले भनेका छन,‘ पछिल्लो समयमा, डब्ल्यु.एच.ओ.ले के भन्यो भनेदेखि यो कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि हामीलाई २ वर्ष लाग्छ । २ वर्षसम्म हामीले स्कुलहरू, शिक्षात्मक गतिविधिहरू अगाडि नबढाउने त ? स्कुल, कलेजहरू बन्द हुन सक्छन् तर शिक्षा बन्द हुँदैन । औपचारिक/अनौपचारिक पद्धतिबाट सिक्ने प्रक्रिया हुन्छ । ज्ञान प्राप्त गर्ने कुराहरू हुन्छ । परिस्थितिले हामीलाई यही दिशातिर लग्यो । त्यसकारणले विद्यार्थीहरू पनि यही दिशातिर जानुपर्छ । शिक्षकहरूले अहिले विद्यार्थीहरूलाई सिक्नको लागि सहयोग गर्नुपर्छ । अभिभावकले त्यसमा उत्प्रेरित गर्नुपर्दछ । स्थानीय सरकार, प्रदेश, संघ सबै यही दिशातिर जानुपर्छ भनेर सबै एकोहोरिएर यही दिशातिर लागिसकेपछि निश्चित् रूपमा हामी हाम्रो विद्यार्थीहरूको शैक्षिक सत्र सुनिश्चित गर्न सक्छौँ । कोभिडको कारणले कुनै पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस् । अहिले सरकारको मूल कुरा त्यही हो ।’ प्रस्तुत छ मन्त्री पोखरेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अब हाम्रा देशका विद्यार्थीहरू कसरी पढ्ने ? अहिले लकडाउन, निषेधाज्ञा छ । कोरोनाको संक्रमण छ । उनीहरू घरमा बसिरहेका छन्, पढ्न पाएका छैनन् । सरकारको तयारी के छ ? 

हामी सबै कोभिड–१९ को महाविपत्तिमा छौँ । यो नेपालको मात्र होइन, विश्वको समस्या हो भनेर हामी सबैले हेर्नुपर्छ । परम्परागत ढंगले पठनपाठनको जुन पद्धति छ, विद्यार्थीहरू स्कुलमा जाने, शिक्षकहरूले गएर पठनपाठन गर्ने, यो पद्धति विपत्तिको बेलामा सम्भव छैन । यसले हामीलाई पहिलो शिक्षा दियो । सबै विद्यार्थीहरूले घरलाई नै शिक्षालय बनाएर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसो हुनाले यो कोभिडले सबैलाई स्वयम् सिक्ने प्रक्रियालाई पल्लवित गरेको छ । यो बेलामा हामीले हामीसँग भएका पाठ्यपुस्तकहरू, हामीसँग भएको सहयोगी सामग्रीहरूलाई पहिलो आधार बनाउनुपर्छ । प्रत्येक दिन रेडियो र एफ.एमबाट चलिरहेका जो विषयहरू छन्, तिनीहरूलाई सुन्नुपर्दछ । टेलिभिजनबाट पनि कैयौँ शिक्षाका कार्यक्रमहरू प्रसारण भईरहेका छन् । कति कक्षा हो, कुन विषय हो, अहिले अनलाईन सुविधा छ, जहाँ ईन्टरनेटको सुविधा छ, जहाँ कनेक्टिभिटी छ, त्यहाँनिर त्यो अनलाईन पद्धतिबाट सिक्न सकिन्छ । घरलाई शिक्षालय बनाउने, घरमा अभिभावक र शिक्षकहरूको सहयोग लिने, आफुले सिक्ने प्रक्रियालाई अगाडि बढाउने, अहिले विपत्तिको बेलामा वैकल्पिक पद्धतिबाट पाठ्यक्रममा आधारित भएको न्युनतम सिकाइलाई सुनिश्चित गर्नु यतिखेरको आवश्यकता हो ।

तपाईले हिजो एउटा निर्णय सार्वजनिक गर्नुभएको छ, त्यो कत्तिको उपयुक्त हुन सक्छ ? कार्यान्वयन हुन सक्छ ?

मानेनन् भन्ने कुरा नै भएन । हामीहरूले यसरी सोच्यौँ कि कुनै बेला हाम्रा स्कुलहरू, कलेजहरू खुल्छन्, अनि हामी त्यहाँ गएर पठनपाठन गर्छौँ भन्ने मान्यताअनुरूप बस्यौँ । यो पद्धति फेस टु फेस पद्धति, प्रत्यक्ष साक्षात्कारमा आधारित पद्धति हो यो । यो परम्परागत पद्धति भयो । हामीले एक ठाउँ जम्मा हुन मिलेन । हामीले भौतिक दूरी कायम गर्नुपर्छ । त्यो गरेर पनि स्कुल/कलेजहरू चलाउन सकिने भएन । म एउटा दृष्टान्त दिन्छु, पछिल्लो समय अमेरिकाको न्यु जर्सीमा स्कुलहरू खुले तर धेरै विद्यार्थीहरू, एक लाखभन्दा बढी विद्यार्थीहरू संक्रमित भए । पछिल्लो समयमा स्पेनको घटनाहरू हेर्नुस् । त्यसबाट पनि हामीले सिक्नुपर्छ । हामीले अब जुन पद्धतिबाट सम्भव छ, त्यो सिक्ने÷सिकाउने पद्धतीलाई अगाडि बढाऔँ । त्यो सिकेको कुरालाई गणना पनि गरौँ भन्ने ढंगले हिजोमात्र हामीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको धारणा सार्वजनिक गरेका छौँ ।

तपाईहरूको धारणा बाहिर आयो तर विद्यार्थीहरूले त यो प्रभावकारी हुँदैन भनेर भनेका छन नि ? अनलाईन शिक्षा ?

कैयौँ देशमा अनलाईन शिक्षा प्रणाली मूल बनेर अगाडि बढिसकेको छ, पहिला हामीले थाहा पाउनुपर्ने । दोस्रो कुरा, यो व्यवस्थापन गर्न सजिलो छैन तर हामी एउटा पद्धतिबाट हिँडेका हुनाले यो पद्धतिमा हामीलाई जान कठिनाई परेको हो । हाम्रो खुला विश्वविद्यालय यही पद्धतिमा हिँडेको छ । अनलाईन शिक्षा भनेको विभिन्न पद्धतिहरूलाई मिलाएर यो वैकल्पिक शिक्षा हो भनेर हामी सबैले थाहा पाउनुपर्छ । पछिल्लो समयमा, डब्ल्यु.एच.ओ.ले के भन्यो भनेदेखि यो कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि हामीलाई २ वर्ष लाग्छ । २ वर्षसम्म हामीले स्कुलहरू, शिक्षात्मक गतिविधिहरू अगाडि नबढाउने त ? स्कुल, कलेजहरू बन्द हुन सक्छन् तर शिक्षा बन्द हुँदैन ।  औपचारिक/अनौपचारिक पद्धतिबाट सिक्ने प्रक्रिया हुन्छ । ज्ञान प्राप्त गर्ने कुराहरू हुन्छ । परिस्थितिले हामीलाई यही दिशातिर लग्यो । त्यसकारणले विद्यार्थीहरू पनि यही दिशातिर जानुपर्छ । शिक्षकहरूले अहिले विद्यार्थीहरूलाई सिक्नको लागि सहयोग गर्नुपर्छ । अभिभावकले त्यसमा उत्प्रेरित गर्नुपर्दछ । स्थानीय सरकार, प्रदेश, संघ सबै यही दिशातिर जानुपर्छ भनेर सबै एकोहोरिएर यही दिशातिर लागिसकेपछि निश्चित् रूपमा हामी हाम्रो विद्यार्थीहरूको शैक्षिक सत्र सुनिश्चित गर्न सक्छौँ । कोभिडको कारणले कुनै पनि विद्यार्थीको शैक्षिक सत्र नबिग्रियोस् । अहिले सरकारको मूल कुरा त्यही हो ।

शैक्षिक क्षेत्र त बिग्रिसक्यो नि ? जाँचमा तपाईहरूले जुन किसिमको प्रणाली अपनाउनुभएको छ, त्यसले प्रणाली त बिथलियो नि ?

पहिलो कुरा त मैले, हाम्रो सरकारले, राज्यले यो गरेको होइन । यो कुरा बुझिदिनुपर्छ । विपत्ति आयो । यस्तो विपत्तिको बेलामा पनि सरकारले शैक्षिक सत्र सुनिश्चित गर्ने गरी प्रक्रिया अगाडि बढायो भनेर सकारात्मक कुरा आएको छ । त्यो पहिलो कुरा मैले यो भन्न चाहन्छु । अर्को कुरा हामीले के भन्यौँ भन्दाखेरि कोभिडको पछिल्लो समयमा संक्रमण बढिरहेको अवस्थालाई हेरेर अझै लामो समयसम्म हेरेर भाइरससँग लड्दै जानुपर्ने भईसकेपछि एकातिर वैकल्पिक प्रक्रियालाई समातेर न्युनतम सिकाई आर्जन गर्दै जाऔँ । अब कैयौँ यस्ता पक्षहरू छन्, जहाँ औपचारिक ढंगभन्दा भिन्न तरिकाले पनि ज्ञान प्राप्त गर्दा रहेछन् । हामीले स्कुल, युनिभर्सिटी खोलेको कति भयो, त्योभन्दा पहिले ज्ञान प्राप्त गर्ने तरिका थियो । यो बेलामा हामी सबैले सकारात्मक ढंगले सोच्ने, असल अभ्यास कहाँ भएका छन् भन्ने हामीले खोज्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्