Logo

शिक्षक–विद्यार्थीको कोरोना बीमा



काभ्रेपलाञ्चोक, २० भदौ: कोरोना भाइरस सङ्क्रमण जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको तीन वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको कोरोना बीमा गर्ने प्रक्रिया थालेका छन् ।

कोरोना कहरकैबीच धुलिखेल नगरपालिका–११ स्थित कालीदेवी माध्यमिक विद्यालयले त जिल्लामै पहिलो पटक सम्पूर्ण विद्यार्थीको कोरोना बीमा शुरु गरेको छ । तेमाल गाउँपालिका र रोशी गाउँपालिकाले पनि आफ्ना सम्पूर्ण स्थायी, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत शिक्षक तथा कर्मचारीको बीमा प्रक्रिया शुरु गरिएको जनाएको छ । “भोलिसम्ममा गाउँपालिका भित्रका सबै विद्यालयलाई त्यहाँ कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीको विवरण पठाउन भनेका छौँ”, तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले भने । उनका अनुसार गाउँपालिकामा सामुदायिक ४१ विद्यालयमा दुई सयभन्दा बढी शिक्षक कार्यरत छन् । गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा ६० भन्दा बढी कर्मचारी छन् ।

यस्तै, रोशी गाउँपालिकाले ६९ सामदायिक विद्यालयका स्थायी, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत ३५० शिक्षकको कोरोना बीमा शुरु गरेको छ । शिक्षा शाखा प्रमुख राम तामाङका अनुसार सरकारको बीमा बजेटअन्तर्गत नै शिक्षकको निःशुल्क रु एक लाखको कोरोना बीमा गर्न थालिएको हो । “बीमाका लागि हाल शिक्षकको विवरण सङ्कलन भइरहेको छ”, उनले भने । उनका अनुसार गाउँपालिकास्थित विभिन्न कार्यालयमा कार्यरत १३९ कर्मचारीको यसअघि नै कोरोना बीमा भइसकेको छ ।

नमोबुद्ध नगरपालिकाले पनि कोरोना बीमाका लागि शिक्षकको विवरण विद्युतीय माध्यमबाट पठाउन सार्वजनिक सूचनाद्वारा सामुदायिक विद्यालयलाई अपील गरेको छ । यसअघि सम्पूर्ण कर्मचारीको बीमा गरिसकेको नगर कार्यपालिकाले हाल शारीरिक रुपमा अशक्त नागरिकको बीमा गर्ने निर्णय गरेको जनाएको छ ।

यसैबीच, धुलिखेल नगरपालिकास्थित कालीदेवी माविले आफ्ना २२५ विद्यार्थी तथा शिक्षकको निःशुल्क कोरोना बीमा गरेको छ । प्रतिविद्यार्थी ५० हजारको कोरोना बीमा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र न्यापानेले जानकारी दिए । “विद्यार्थी हाम्रै परिवारका सदस्य भएको नाताले उनीहरुको स्वास्थ्य सुरक्षा समेतको जिम्मेवारी बोध गरी बीमा गरेका हौँ”, उनले भने । यो कार्यले अभिभावकबाट निकै प्रशंसा पाइरहको उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, “अधिकांश विद्यार्थी ग्रामीण क्षेत्रका भएकाले न्यून आय भएका परिवारलाई निकै लाभ मिलेको महसुस गरेका छौँ ।” उनका अनुसार यसले विद्यालय र अभिभावकबीच विश्वासको वातावरण मजबुत बन्ने अपेक्षा गरिएको छ ।

त्यसो त, पाँचखाल नगरपालिकाको २, ३, ४, ५ र ९ वडाले ५० प्रतिशत छुटमा स्थानीयवासीको स्वास्थ्य बीमा सिफारिस गरिरहेका छन् । वडा न. ४ का अध्यक्ष सुन्दर लामाले आफ्नो क्षेत्रका १२८ एकल महिलाको समेत आफैले कोरोना बीमाको प्रक्रिया थालिएको बताए । “बीमाका लागि प्रिमियमको आधा सरकार र आधा मैले व्यहोर्ने गरी एकल महिलाको कोरोना बीमा प्रक्रिया थालेको छु”, उनले भने । उनका अनुसार नगरका अन्य वडाले पनि आफ्ना नागरिकको बीमाबारे छलफल गरिरहेका छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्