Logo

खानेपानी माग्न गएका उपभोक्ता हिरासतमा



दोलखा, २१ भाद्र । दोलखाको मेलुङ गाउँपालिका केन्द्रस्थित गाउँका खानेपानी माग्न गएका उपभोक्ता हिरासतमा पुगेका छन्। मेलुङ गाउँपालिका-४, भेड्पुस्थित अरले खानेपानी आयोजनाको लागि आएको बजेट गाउँपालिकाले आर्थिक वर्षको सुरुमै रकमान्तर गरी अन्यत्र लैजान खोजेको विषयमा उत्पन्न भएको विवादले उपभोक्ता समितिका अध्यक्षसहित ५ जना प्रहरी हिरासतमा पुगेका हुन्।

भेड्पु गोलेगाउँ, थामीडाँडा, पिपलबोट, मानेडाँडा, स्वाराडाँडा लगायतका स्थानका उपभोक्ताको लागि भनेर संघीय सरकारबाट अरले खानेपानी आयोजनाको लागि तोकेर आएको ९० लाख बजेट गाउँपालिकाले आर्थिक बर्षको सुरुमै रकमान्तर गरी अन्यन्त्र लैजान खोजे पछि ज्ञापनपत्र बुझाउन गएका उपभोक्ता समितिका अध्यक्षसहित ५ जनालाई दोलखा प्रहरीले पक्राउ गरेको हो।

मेलुङ गाउँपालिका-४, भेड्पुका वडाध्यक्ष छत्रबहादुर तामाङले आफूसहित गएका उपभोक्तामध्ये राजनीतिक प्रतिशोध साँध्न छानीछानी अध्यक्षसहित ५ उपभोक्तालाई पक्राउ गरेको बताए।

भदौ १८ गते वडाध्यक्ष छत्रबहादुर तामाङ सहितको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गाउँपालिका गएका उपभोक्तासहितलाई गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले ‘तिमी भुसुनाहरुले केही नाप्दैनौ, म ज्ञापनपत्र बुझ्दिन, सकेको गर १’ भन्दै विवादलाई बढाएपछि उपभोक्ताले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको वडाध्यक्ष तामाङले बताए। तालाबन्दी पछि चरिकोटदेखि गएको प्रहरीको टोलीले उपभोक्ता समितिका अध्यक्ष कृपाश्वर गोलेसहित प्रविण थोकर, कुमार गोले, मधुकर गोले र सपन गोलेलाई पक्राउ गरेको थियो।

आफ्नो गाउँको लागि केन्द्रबाट विनियोजित रकम वडाध्यक्ष तामाङलाई समेत थाहै नदिई अध्यक्ष श्रेष्ठ निकटकाहरु रहेको स्थानबाट सर्भे शुरु गर्न लगाएपछि विवाद उत्कर्षमा पुगेको केही जनप्रतिनिधि नै स्वीकार गर्छन। मेलुङ गाउँपालिकाका प्रवक्ता हिरा थोकरले ‘प्रारम्भिक सर्भे मात्र भएको, सर्भे टुंगिनसकेकोले विवाद झिक्नु आवश्यक थिएन’, उनले भने, ‘सामान्य विषयले उग्ररुप लिँदा विवाद प्रहरीको पुगेर मुद्दा दर्ता हुन पुग्नु दुर्भाग्य हो।’

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद२६ को आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी कसूरको दफा २८४ को उपदफा १ र २ अनुसारको कसुरमा शुक्रबार मुद्दा दर्ता गरिएको दोलखाको प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए।

सोही विषयमा शनिबार नेपाली कांग्रेस मेलुङ गाउँपालिकाले विज्ञप्ति जारी गर्दै पक्राउ परेका उपभोक्तालाई तत्काल बिना शर्त रिहाई गर्न र अरले खानेपानी योजना तोकिएकै बस्तीमा सम्पन्न गर्न चेतावनी दिएको छ। सोही विषयलाई लिएर दोलखा कांग्रेसले शनिबार अपरान्ह चरिकोटमा नाराजुलुससहित पुत्ला दहन समेत गरेको थियो। यस्तै राप्रपा दोलखाले पनि राजनीतिक प्रतिशोध राखेर गिरफ्तार गरिएका उपभोक्ता रिहाइको माग गरेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्