Logo

कारागारमा परीक्षण गरिएका सबै संक्रमित



राजविराज, २१ भाद्र । तीन सय ३२ जना कैदीबन्दी रहेको सप्तरीको जिल्ला कारागारमा थुनामा रहेका ६ जना कैदीबन्दी र २ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। शंका लागेर चेकजाँच गराएका आठै जनामा कोरोना पोजिटिभ देखिएको निमित्त जेलर सञ्जय रामले बताए।

गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा २२, ३१, ३१, २६ र ५६ तथा उमेर नखुलेका एक जना पुरुष कैदीलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ। कारागार सुरक्षामा खटिएका २ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।

कारागारमा फेला परेका संक्रमितमध्ये ३ जना कैदी र ३ जना बन्दी रहेका निमित्त जेलर रामले बताए। उनीहरु सबै ‘ए ब्लक’मा बस्दै आएका छन्। महिला समेत गरी तीनओटा ‘ब्लक’ रहेको कारागारको ‘ए ब्लक’ मा १ सय ९५ जना कैदीबन्दी छन्।

ज्वरो, रुघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षणका लागि स्वाब दिनु अघि सबै कैदीबन्दी सँगै बस्ने गरेका थिए। संक्रमित देखिएका कैदीबन्दीलाई कारागार सुरक्षा गार्ड बस्दै आएको भवनमा आइसोलेसन गरी राखिने निमित्त जेलर रामले जानकारी दिए। परीक्षण गराएका आठै जनाको रिपोर्ट पोजिटिभ आएकोले कारागारमा रहेका सबै कैदीबन्दी र प्रहरी, कर्मचारीको पीसीआर परीक्षण गराउनु पर्ने आवश्यक्ता भएको उनले बताएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्