काठमाडौं, २१ भाद्र । मल आपूर्तिको जिम्मा पाएर समयमै काम पूरा नगरेर किसानहरु मारमा परेपछि सरकारले ठेकेदारहरुलाई कारबाही गर्दैछ । कृषि मन्त्रालयले मल आपूर्तिको जिम्मा पाएका कम्पनिहरुलाई कालो सुचीमा राखेर सञ्चालकहरुलाई पनि कालो सुचीमा राख्ने भएको छ ।
कारबाहीमा पर्नेहरुमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासका घरबेटी शारदाप्रसाद अधिकारी र अर्का व्यवसायी होमनाथ कोइराला छन् । अधिकारी शैलुङ कनस्ट्रक्सन र कोइराला होबिको मल्टिपल कम्पनिका सञ्चालक हुन् । उनीहरुले मल आपूर्तिको जिम्मा पाएका थिए । तर, समयमै मल आपूर्ति गर्न नसक्दा कृषकहरु मारमा परेका छन् भने सरकार आलोचित भएको छ ।
शारदाप्रसाद अधिकारी निर्माण व्यवसायी पनि हुन् । उनले जिम्मा लिएको कतिपय विकास निर्माणको ठेक्का अलपत्र छ । अधिकारी र कोइरालामाथि चौतर्फी कारबाहीको माग बढेपछि कृषि मन्त्री घनश्याम भुषालले कदम चाल्न लागेका हुन् ।
यसअघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मल आपूर्ति र रेल सम्बन्धि ठेक्का पाएकाहरुमाथि कारबाहीको चेतावनी दिएका थिए । विप्लव नेकपाले हिजो प्रेस विज्ञप्तिमार्फत् शारदाप्रसाद अधिकारी र होमनाथ कोइरालको नामै तोकेर कारबाहीको माग गर्दै सरकारले नगरे आफूहरुले गर्ने चेतावनी दिएको थियो ।