Logo

‘कोभिड–१९ अप्रेसन सेन्टर’ स्थापना



काठमाडौं, २२ भाद्र । राजधानीमा कोरोना संक्रमित बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले ‘कोभिड–१९ अप्रेसन सेन्टर’ स्थापना गरेको छ । करिब २० जनाको स्वास्थ्यकर्मी रहने गरी कोभिड सेन्टर स्थापना गरिएको हो ।

कामपाले हिजो आइतबार राष्ट्रिय सभागृहमा अप्रेसन सेन्टर स्थापना गरेको कामपा जनस्वाथ्य विभाग प्रमुख हरि कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार सो टोलीले सबै वडाका संक्रमितसँग समन्वय गर्ने कन्ट््याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्नेछन् । कामपाले हिजैबाट १० जना जनस्वाथ्यकर्मीलाई करार सेवामा लिएको छ ।

सो टोलीले ३२ वटै वडासँग संयोजन गर्ने, होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने र आवश्यकताका आधारमा अस्पताल लैजानेसम्मको काम गर्नेछ ।

संघीय राजधानी रहेको कामपामा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा ठोसरुपमा काम गर्न नसकेको आरोप लागेको अवस्थामा महानगरले अप्रेसन सेन्टर स्थापना गरेको हो ।

कामपाका प्रमुख प्रशासकीय अधिकृत एवं सचिव एकनारायण अर्यालले कोरोना संक्रमणलाई रोकथाम गर्न र राजधानीमा संक्रमितको संख्या पत्ता लगाएर पीसीआर परीक्षण गर्ने अधिकारसहित सेन्टर स्थापना गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो– ‘आज सोमबारबाट टोलीले सबै काम गर्नेछ । महानगरबासीलाई समस्या परेमा वडाको संयोजनमा टोलीमार्फत सबै काम हुनेछ ।’

अप्रेसन सेन्टरका सबै कर्मचारी र जनस्वाथ्यकर्मीलाई प्रशिक्षणपश्चात् फिल्डमा खटाउने तथा संक्रमण पहिचान गर्न कन्ट्क्याट ट्रेसिङलाई थप बढाउने कामपाले जनाएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्