Logo

चौतर्फी विरोधपछि मापदण्ड संशोधन गर्ने प्रक्रियामा बीमा समिति



काठमाडौं,भदौं २२ । चौतर्फी विरोध भएपछि निजी प्रयोगशालाद्वारा गरिएको पीसीआर परीक्षणलाई मान्यता नदिने आफ्नो निर्णयबाट पछि हट्दै बीमा समितिले निजी प्रयोगशालाहरूबाट प्राप्त बीमा दाबीहरूको विस्तृत छानविन गर्न समिति गठन गरेको छ ।

समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिको सुझावका आधारमा बीमा दाबी भुक्तानीसम्बन्धी निर्णय गरिएको छ ।

समितिले गत हप्ता निजी प्रयोगशालाबाट पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि हुने बीमितलाई दाबी नदिन कम्पनीहरूलाई पत्राचार गरेको थियो । तर, यसको चौतर्फी विरोध भएपछि आइतवार भएको सरोकारवाला पक्षबीचको छलफलपछि समिति यसबारेमा लचिलो भएको हो ।

बीमा समितिले निजी प्रयोगशालाबाट गरिएको परीक्षणका आधारमा दाबी भुक्तानी नदिनु भनेर पत्राचार गरेपछि कम्पनीहरूले दाबी प्रक्रिया रोकेका थिए । तर, यो विवादित बनेपछि समितिले आइतवार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल बीमक संघसँग छलफल गरेको थियो ।

भदौ २१ गते अर्थात् आइतवारसम्म निजी प्रयोगशालामा परीक्षण भई प्राप्त दाबीहरूका विषयमा छानविन गर्न बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलेको संयोजकत्वमा बनाइएको समितिकोे सुझावका आधारमा यस विषयमा निर्णय गरिने समितिले बताएको छ । सो समितिमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल बीमक संघको प्रतिनिधित्व रहेको छ ।

कार्यकारी निर्देशक पौडेलले निजी प्रयोगशालामा परीक्षण गरेका बीमितलाई पनि दाबी दिने उद्देश्यले कार्यदल गठन गरिएको बताए । ‘हाम्रो पनि बीमितले दाबी भुक्तानी पाउनुपर्छ भन्ने मान्यता हो । अब यसमा आवश्यक अध्ययन गरेर निर्णय गर्छौं,’ उनले भने, ‘यसमा बीमितहरू ढुक्क भएर बसे हुन्छ ।’

समितिले दाबीका लागि निजी प्रयोगशालाको रिपोर्टलाई पनि मान्यता दिने गरी कोरोना मापदण्ड २०७७ संशोधन गर्ने निर्णय गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्