Logo

थानकोट–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु



काठमाडौँ, २२ भाद्र। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । शिलान्यास भएको झन्डै एक वर्षपछि राजधानी भित्रिने मुख्य नाकामा सुरङमार्ग निर्माण सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक २४ गते उक्त सुरुङमार्गको शिलान्यास गर्नुभएको थियो ।

विभिन्न समस्या र अवरोधलाई समाधान गर्दै मुलुककै ‘ड्रिम प्रोजेक्ट’का रूपमा उक्त सुरुङमार्गको निर्माण कार्य सुरु भएको प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ र धादिङ दुवैतिरबाट एकैसाथ सुरुङमार्गको निर्माण सुरु गरिएको छ, अब निरन्तर काम अगाडि बढ्ने छ ।” मुआब्जा विवाद र विस्फोटक पदार्थ आपूर्तिका लागि नेपाली सेनाले अनुमति नदिँदा निर्माण सुरु हुन सकेको थिएन ।

सुरुङमार्ग निर्माण स्थलको आकस्मिक अनुगमन गर्नुभएका विज्ञ थपलियाले अनुगमनका क्रममा आफूले निर्माणकार्य निरन्तर अगाडि बढाउन अब कुनै समस्या नरहेको पाएको जानकारी दिनुुुभयो । निर्माण कम्पनीको आयोजना निर्देशकको प्रत्यक्ष रोहवरमा २४ घण्टा काम भइरहेको छ । “निर्माणका क्रममा कुनै समस्या उत्पन्न भए यथाशीघ्र सम्पर्क गर्न आयोजना निर्देशकलाई भनेको छु,” उहाँले भन्नुभयो, “अब कुनै समस्या देखिँदैन, देखिएको नयाँ समस्यालाई थयाशीघ्र समाधान गरी कामलाई निरन्तरता दिइने छ ।”

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले काठमाडौँ र धादिङबाट एकैसाथ सुरुङको मुख बनाउने काम भइरहेको जानकारी दिनुभयो । दुवैतिरको मुख निर्माण भइसकेपछि भित्र छिरेर दैनिक विस्फोट गराइने बताउँदै उहाँले अबको एक वर्षभित्र दुवैतिरबाट वारपार गर्न मिल्ने गरी प्रस्तावित सुरुङको प्वाल खोलिसकिने जानकारी दिनुभयो । करिब २।७ किलोमिटर लम्बाइको सुरुङमार्गको चौडाइ करिब १२ मिटर र उचाइ आठ मिटर हुनेछ यो खबर आजको गोरखापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्