Logo

पुनः निषेधाज्ञा थपिए नाडाले अवज्ञा गर्ने



काठमाडौं, भदौ २३ । अटोमोबाइल व्यवसायीहरूले सरकारले भदौ २५ गतेपछि पुनः निषेधाज्ञा थपे त्यसको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्ने बताएका छन् ।

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल व्यवसायी महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै सुरक्षाका मापदण्ड अपनाउँदै उद्योग व्यवसाय सञ्चालनको वातावरण मिलाउन सरकारलाई आग्रह गरेको छ ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सरकारले आउँदो बुधवारसम्मका लागि जारी गरेको निषेधाज्ञा पुनः थप गरिएमा व्यवसायीले त्यसको अवज्ञा गर्ने बताए । ‘भदौ २५ गतेपछि सरकारले बन्द गरे पनि व्यवसायीले बन्द खुलाउँछन्, निषेधाज्ञा अवज्ञा गरेरै व्यवसाय सञ्चालन गर्छौं,’ उनले भने ।

भोकमरी र बेरोजगारीको महामारी कोरोनाभन्दा व्यापक भएको दुलालको टिप्पणी छ । अन्य मुलुकले समेत बन्दाबन्दी खुकुलो गरी उद्योग व्यवसाय चलायमान बनाएकाले निषेधाज्ञाबारे सरकारले पुनर्विचार गर्नुपर्ने उनले बताए ।

नाडाका महासचिव सुनील रिजालका अनुसार नाडाका पदाधिकारीहरूको सोमवारको भर्र्चुअल छलफलले भदौ २५ बाट नियमित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । ‘सबै व्यवसायी सडकमा आउने बेला भएको छ, बन्दाबन्दी मात्र गरेर कसरी बाँच्ने?’ उनले भने ।

सवारी कर्जामा कडाइ गरिएपछि कोरोना महामारी अघिदेखि नै अटोमोबाइल व्यवसाय ओरालो लाग्दै थियो । बैंकले ५० प्रतिशत मात्रै सवारी कर्जा दिने भएपछि चारपांग्रेको विक्रीमा नराम्रो असर परेको थियो । ‘प्यासेन्जर कार तथा कमर्शियल भेइकलको बजार सवारी कर्जा कडाइले नराम्ररी प्रभावित भएको थियो,’ नाडाका सचिव अनुप बराल बताउँछन् ।

सरकारले कोरोना नियन्त्रणका लागि भन्दै चैत ११ गतेदेखि लगाएको चारमहीने लामो बन्दाबन्दीका समयमा सवारीसाधन विक्री शून्यमै झ¥यो । साउनयता बन्दाबन्दी खुल्दा दुईपांग्रे सवारीसाधनको विक्रीमा राम्रो सुधार देखिएको थियो । तर, भदौ ४ गतेदेखि सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेयता अटोमोबाइल व्यवसाय फेरि ठप्प हुन पुगेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्