Logo

नागरिकता कीर्ते गर्ने पक्राउ



तनहुँ, २३ भाद्र । नागरिकता किर्ते मुद्दामा फरार प्रतिवादी भानु नगरपालिका नाब्रुङका प्रकाश मल्ललाई २२ वर्षपछि सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको २०५५ बैशाख २० गतेको फैसलाले नागरिकता किर्ते मुद्दामा १ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई स्थानीय प्रहरीले उनकै घरमा फेला परी पक्राउ गरेको जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत तनहुँमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी तनहुँ शुक्लागण्डकी नगरपालिकाका सुक्मित राना आइतबार पक्राउ परेका छन् । २०७६ फागुन २६ गते दिउँसो शुक्लागण्डकी दुलेगौडामा सोही नगरपालिकाका सुमित श्रेष्ठ सवार स्कुटरको पिछा गरी बाटो छेकी ज्यान मार्ने उद्देश्यले राना समेतका व्यक्तिले धारिलो हतियार खुडा, खुकुरी र फलामको रड प्रहार गरी सख्त घाइते बनाएको घटनामा फरार रहेका रानालाई ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनकै घरमा फेला पारी पक्राउ गरेको बताएको छ । उनलाई जिल्ला अदालत तनहुँमा उपस्थित गराइएकोमा अदालतको आदेशले पुर्पक्षको लागि कारागार कार्यालय तनहुँ पठाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्