Logo

सङ्क्रमणको अबस्था जान्न नेपालमा पनि ‘सिरो प्रिभेलेन्स’ अध्ययन



काठमाडौं, २४ भाद्र। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सिरो प्रिभेलेन्स’ विधि अपनाएर समुदायमा कोभिड–१९ सङ्क्रमणको अवस्थाको अध्ययन सर्वेक्षण गर्न लागेको छ । जनस्वास्थ्यविद्हरुले सङ्क्रमण समुदायमा गइसकेको दाबी गर्दै आएका छन् । तर मन्त्रालयले समुदायमा सङ्क्रमण देखिए पनि वृहत्त रुपमा नभई ‘क्लष्टर’मा मात्रै गएको जनाउँदै आएको छ ।
मन्त्रालयका अनुसार समुदायमा सङ्क्रमणको अवस्था बुझ्न काठमाडौं उपत्यकामा अनुसन्धान परिषद् र सातै प्रदेशमा सरुवा रोग नियन्त्रण महाशाखाले अध्ययन गर्दैछ । परिषद्का सदस्य सचिब डा। प्रदीप ज्ञवालीले दुई दिन भित्रै उपत्यकामा जोखिम समूहमा यस्तो अध्ययन सुरु गर्ने बताउनुभयो ।

स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने समूहलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्नेछ । डा। ज्ञवालीले भन्नुभयो, “काठमाडौं उपत्यकामा सात सय ८५ वटा नमूना सङ्कलन गरिनेछ ।” उक्त अध्ययन गर्न कम्तिमा डेढ देखि दुई महिना लाग्नेछ ।

एक्लिया विधि अपनाएर गरिने अध्ययनमा चार पटकसम्म रगतको नमूना सङ्कलन गरिनेछ । डा। ज्ञवालीले भन्नुभयो, “सुरुमा पहिलो साता स्वास्थ्य उपचारमा संलग्न स्वास्थ्यकर्मीको नमूना लिइनेछ, दोस्रो साता परिवारका सदस्यको र तेस्रो साता पुनः स्वास्थ्यकर्मीको नमूना लिइनेछ र अन्त्यमा छैठौं साता पुनः स्वास्थ्यकर्मीको नमूना लिएर अध्ययन गरिनेछ ।”
सङ्कलित नमूनाको अध्ययनले बिगत्मा कोभिड–१९ बाट सङ्क्रमित भए नभएको पत्ता लगाउनुका साथै कसरी सङ्क्रमण फैलिएको देखाउनेछ । साथै, एकपटक कोभिड–१९ बाट सङ्क्रमित भए कति अवधिसम्म एन्टीबडीले सुरक्षित राख्ने अध्ययनबाट खुल्नेछ । यस प्रकृयामा पुनः सङ्क्रमित भएकाको नमूना समेत सङ्कलन गरिनेछ ।

उपत्यकामा सहज हुने भएपनि सातवटै प्रदेशका लागि ठूलो जनशक्ति आवश्यक पर्ने हुँदा महाशाखाले प्रदेशको स्रोत साधन र जनशक्ति समेत परिचालन गर्नेछ । सातवटै प्रदेशमा वृहत्त अध्ययनका लागि दुईदेखि तीन साता अझै तयारीमा समय लाग्ने महाशाखा प्रमुख डा। पाण्डेले बताउनुभयो । “नमूना पहिचान र सङ्कलन, विधि र आधारहरुबारे बुझाउन प्रशिक्षण सञ्चालन गर्नुपर्ने भएकोले दुई साता अझै लाग्ने देखिन्छ ।” उहाँले थप्नुभयो । यो खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्