Logo

निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणः १ महीनाभित्रै ज्युरिखको प्रस्तावबारे अन्तिम निर्णय



काठमाडौं, भदौ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढ विमानस्थल निर्माणका लागि ज्युरिख एयरपोर्ट इन्टरनेशनलसँग सेप्टेम्बर ३० भित्रै लगानीसम्बन्धी अन्तिम निर्णय लिने निधो गरेको छ ।

निजगढ विमानस्थल उच्चस्तरीय सहजीकरण समितिका संयोजक योगेश भट्टराई अध्यक्षताको मंगलवारको बैठकले विमानस्थल निर्माणका लागि छनोट भएको ज्युरिख एयरपोर्ट इन्टरनेशनलसँग अन्तिम निर्णय लिने जिम्मा लगानी बोर्डलाई दिने निर्णय गरेको हो ।

बैठकले आयोजना स्थलमा अवस्थित टाँगिया बस्ती स्थानान्तरणका लागि स्थलगत निरीक्षण गरेर बस्ती व्यवस्थापन स्थलसहितको मोडालिटी तय गरी १५ दिनभित्र उच्चस्तरीय समितिसमक्ष प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । यसका लागि बैठकले भूमि, व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरेको पर्यटन मन्त्रालयका सहसचिव तथा प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए ।

यस्तै, बैठकले विमानस्थलको गुरुयोजना निर्माणको खरीद सम्झौता प्रक्रियाका बाँकी काम आगामी १ साताभित्रै सम्पन्न गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको भट्टराईले बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणअन्तर्गत विमानस्थलको १९ सय हेक्टरमा रहेका रूख–बिरुवा तथा पोल हालसम्म ५७ हजार ३ सय ५० गणना गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ ।

बैठकले डिभिजन वन कार्यालय बाराले निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण क्षेत्रमा पर्ने रूख तथा पोलको लगत नम्बरिङको काम छिटो पूरा गर्न जनशक्ति थप गरी २०७७ मङ्सिर मसान्तसम्म रूख गणना सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रालयका प्रवक्ता भट्टराईका अनुसार बैठकले विमानस्थल निर्माण क्षेत्रको चार किल्ला वरिपरि सडक निर्माण, पहुँच मार्ग निर्माण र सो क्षेत्रमा पर्ने वन क्षेत्रको रूख कटान सम्पन्न गर्न नेपाल वन निगम लिमिटेडमार्फत काम अगाडि बढाउन प्राधिकरणबाट पहल गर्ने निर्णय गरेको छ ।

डिभिजन वन कार्यालय बाराबाट यसअघि नै गणना सम्पन्न गरिएका ४ हजार २ सय ३२ ओटा रूखको कटान स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयले भेरिफिकेशन सम्पन्न गरी १ महीनाभित्र मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेश गरिनेछ ।

विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन गतवर्ष नै आवश्यक आशयपत्र ९आरएफपी० जारी गर्ने भनिए पनि अझै भएको छैन । सरकारले गतवर्ष असोज पहिलो साता निजगढ विमानस्थल निर्माणका लागि स्वीट्जरल्यान्डको ज्युरिख एयरपोर्ट इन्टरनेशनललाई संक्षिप्त सूचीमा राखेको थियो ।

प्रधानमन्त्री केपी ओली अध्यक्षताको गतवर्ष असोज ६ मा बसेको लगानी बोर्डको ४०औं बैठकले तोकिएको मापदण्ड पुगेको आधारमा ज्युरिखलाई छनोट गरी प्राविधिक तथा वित्तीय प्रस्ताव माग्ने निर्णय गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्