Logo

कांग्रेसमा विवादः गुट बैठक निरन्तर, शीर्ष तहमा संवादहीनता



काठमाडौं, २४ भाद्र । कांग्रेसमा गुटका बैठक निरन्तर चलिरहे पनि शीर्ष तहमा संवादहीनता देखिएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच संवाद नभएको दुई महिना भयो। अनौपचारिक बैठकसमेत भएको छैन। न केन्द्रीय कार्यसमिति वा पदाधिकारीको बैठकै बसेको छ।

महाधिवेशन नजिकिएसँगै ‘जुम’मा दैनिकजसो कार्यकर्तासँग घण्टौं संवादमा बिताइरहेका शीर्ष नेता पार्टीभित्रको बढ्दो विवाद समाधानतर्फ भने उदासीन देखिन्छन्। विवाद समाधान गर्न न सभापतिले पहल गरेका छन् न त वरिष्ठलगायत अन्य नेताकै भूमिका प्रभावकारी देखिन्छ।

‘रामचन्द्रजीसँग मेरो कुरा भएको थियो। कोरोनाअघि ९निषेधाज्ञा लागू हुनुअघि० नै भएको हो। उहाँले मान्नुभएको छैन’, उपसभापति विमलेन्द्र निधिले भने, ‘अब फेरि पहल गर्छौं। संवादको विकल्प छैन।’ उनले पार्टीभित्रको विवाद अन्त्य गरी महाधिवेशनतर्फ लाग्नुको विकल्प नरहेको बताए। निधि पार्टीभित्र विवाद बढ्दा सधैं मध्यमार्गी भूमिकामा देखिने गरेका छन्।

केन्द्रीय कार्यसमितिको पछिल्लो बैठक असार २२ गते बसेको थियो। उक्त बैठकले महाधिवेशनको कार्यतालिका परिमार्जन गरेको थियो। त्यसपछि दोस्रो साता शीर्ष नेतासहित पदाधिकारी बैठक बसेको थियो। उक्त बैठकमा राप्रपा परित्याग गरेर आएका सुनील थापासहितका नेतालाई कांग्रेसमा कस्तो भूमिका दिने भन्नेमा छलफल भएको थियो। त्यसपछि कांग्रेसमा न कुनै अनौपचारिक छलफल भएका छन् न त औपचारिक बैठक नै।

पार्टी समायोजन, क्रियाशील सदस्यता वितरण, विभाग गठन र भ्रातृसंस्थाको समयावधि थपका विषयलाई लिएर पौडेल समूहले असन्तुष्टि जनाउँदै आएको छ। गत जेठमा पार्टी सभापतिलाई भेटेरै विरोध जनाएको पौडेल समूहले विभाग गठन पार्टीको विधान र निर्वाचन आचारसंहिता विपरीत भएको दाबी गर्दै खारेजीका लागि निर्वाचन समितिमा उजुरी नै दिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्