Logo

नेकपा स्थायी कमिटी बैठक औपचारिकतामै सिमित हुने, एजेन्डा पठाएर लिखित सुझाव लिएर आउन भनियो



काठमाडौं, २५ भाद्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शक्ति बाँडफाँडमा कुरा मिलिसकेको छ । दुवै अध्यक्ष बसेर पार्टी र सरकार सञ्चालनको टुंगो लागेको हो । सहमति बनेपछि दुवै अध्यक्षले विगतमै एउटा कार्यदल बनाएर सुझाव समेत संकलन गरेका छन् ।

नेकपा महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले सुझाव समेत बुझायो । जससलाई ओली र प्रचण्ड मिलेर लगभग निष्कर्ष निकालिसकेका छन् । त्यसैलाई निर्णयमा पुर्याउन स्थायी कमिटी बैठक भोलिबाट डाकिएको छ । तर, बैठक औपचारिकतामै सिमित बनाइने भएको छ ।

स्थायी कमिटी सदस्यहरुलाई बैठकको एजेन्डा पठाइसकिएको छ । त्यसैको आधारमा भोलि बस्ने बैठकमा लिखित रुपमा सुझाव लिएर आउन भनिएको छ । यसको अर्थ अब बैठकमा सदस्यहरुले लिखित रुपमै सुझाव राख्न पाउनेछन् । बोल्न पाउने मौका कमैलाई हुनसक्छ । बोल्ने मौका पाएपनि निकै छोटो समयका लागि हुनसक्छ । यसको अर्थ नेकपा स्थायी कमिटी बैठक पार्टी विवाद मिलाउन दुई अध्यक्ष ओली र प्रचण्डले निकालेको सहमतिलाई सदर गर्नुमात्र हुने देखिएको छ ।

यसअघि १३ साउनमा ओलीको राजीनामा माग्ने बहुमत स्थायी कमिटी सदस्यहरु भएपछि स्थगित भएको थियो । बैठक पुनः गर्न सचिवालय बैठक बसी टुंगो लगाइएको थियो । अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी पद्धति र प्रणाली अनुसार सञ्चालन गर्ने सहमति बनाएकाले सचिवालय र स्थायी कमिटी बैठक महत्वपूर्ण निर्णयहरु गराउनका लागि औपचारिकता नै भएपनि सञ्चालन गर्ने नीति लिएका हुन् ।

यसैगरी, नेकपा स्थायी कमिटी बैठक अगावै बामदेवलाई राष्ट्रियसभामा लाने र केही महत्वपूर्ण सरकारी नियुक्तिहरु नहुने भएको छ । यी निर्णयहरु भएमा पार्टी बैठकमा विवाद हुनसक्ने भएकाले ओलीले चतुर्याई गरेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्