Logo

बैंकहरुको कर्जा लगानी सुस्त, नयाँ कर्जाकाे माग न्यून



निषेधाज्ञाको कारण वाणिज्य बैंकहरूको कर्जा लगानी सुस्त देखिएको छ। बैंकिङ प्रणालीमा झण्डै २ खर्ब रुपैयाँ तरलता भएतापनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन्।

भदौ लागेयता बैंकहरुको कर्जा लगानी १९ अर्ब रुपैयाँले बढेको छ। गत वर्ष बैंकहरुले भदौ महिनामा ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए। यस वर्ष बैंकहरुसँग प्रशस्त लगानीयोग्य रकम भए पनि कर्जाको माग नहुँदा कर्जा लगानी बढाउन सकेका छैनन्।

भदौ १९ गतेसम्ममा बैंकहरूले २८ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। भदौ पहिलो साता बैंकहरूको कर्जा लगानी ८ अर्ब रुपैयाँले बढेको थियो भने दोस्रो साता ६ अर्ब र तेस्रो साता ५ अर्ब रुपैयाँले बढेको छ।

बैंकहरुमा नयाँ कर्जाको माग आउन छोडेपछि कर्जा खोसाखोसको स्थिति समेत आएको छ।  अहिले एक बैंकले लिइरहेकाे ब्याजदरभन्दा कम ब्याज कर्जा खाेस्ने प्रकृया बढेकाे छ। बैंकहरुमा कर्जा खोसाखोस गर्ने अस्वस्थ प्रतिशपर्धा बढेको भन्दौ केन्द्रिय बैंकका गभर्नरले अस्वस्थ प्रतिशपर्धा बन्द गर्न आग्रह समेत गरेका थिए।

पछिल्लो समय बैंकहरुको ब्याजदर घटेको छ भने कर्जा लगानी बढाउन न्यून ब्याजदरमा विभिन्न स्किमहरू समेत ल्याइरहेका छन्। तर पनि कोरोना संक्रमण बढ्दै जाँदा भएको निषेधाज्ञाले बैंकहरुले सोचेजति कर्जा लगानी बढाउन सकेका छैनन्।

  • निक्षेप संकलन पनि न्युन

पछिल्ला दिनहरुमा बैंकको निक्षेप संकलन पनि घटेको छ। भदौ लागेदेखि तेस्रो सातासम्ममा बैंकहरुले १२ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेका छन्। लकडाउनको समयमा निक्षेप संकलन बढ्दै गए पनि कर्जा लगानी बढ्न सकेको थिएन। तर अहिले भने बैंकहरुको ब्याजदर समेत न्यून रहेकाले निक्षेप संकलन पनि घट्दै गएको छ।

भदौ पहिलो साता १ अर्ब रुपैयाँले बढेको निक्षेप दोस्रो साता ६ अर्ब रुपैयाँले बढेको थियो भने तेस्रो साता ५ अर्ब रुपैयाँले बढेको छ। भदौ तेस्रो सातासम्ममा बैंकहरुले कुल ३४ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्