Logo

औद्योगिक ग्राममा ५३ उद्योग स्थापना हुँदै



बुटवल, भदौ २६ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्राममा ५३ साना तथा घरेलु उद्योग स्थापना हुने भएका छन् । नगरपालिकाको वडा नं। १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण गर्ने ती उद्योगलाई प्राथमिकतामा राखिएको नगरपालिकाले जनाएको छ ।

रोहिणी नदी नजिक झण्डै १९ बिघा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी नगरपालिकाले काम अघि बढाएको छ । औद्योगिक ग्रामको डिपीआर ९विस्तृत परियोजना प्रतिवेदन० तयार भइसकेको र चालु आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

पहिलो चरणको निर्माण कार्यको लागि रु दुई करोड ५२ लाख बजेटमध्ये रु एक करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम हुनेछन् । डिपिआर अनुसार रोहिणी नदी ड्राइभर्सनको कामसमेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन रु ५२ करोड लागत अनुमान गरिएको छ ।

नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने बताए । उप–प्रमुख जगेश्वरदेवी चौधरीले औद्योगिक ग्रामले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने बताए । वडाध्यक्ष व्यासमुन थारुले सार्वजनिक जमिन संरक्षणमा योगदान गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै तोकिएकै समयमा निर्माण सम्पन्न गराउन स्थानीयवासीको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।रासस

 



प्रतिक्रिया दिनुहोस्