चितवन, भदौ २७ । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शुक्रबार र आज मात्र २२ जनामा कोरोना सङ्क्रमण देखिएको हो । बिहान आएको नतिजामा वडा प्रहरी कार्यालयका १० सहित ११ जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।
यस्तै शनिबार आएको नतिजामा वडाका १२ जना प्रहरीमा कोरोना सङ्क्रमण देखिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वडा प्रहरी कार्यालयका प्रमुखसहित चार जनालाई गत साता कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै जिल्लामा ३९ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको छ । यसमध्ये पाँचजना निको भएर फर्किसकेका छन् भने अन्य ३४ जना आइसोलेसनमा छन् ।
वडा प्रहरी कार्यालयमा ९५ जनाको दरबन्दी भएको भए पनि हाल कार्यरत ४१ मध्ये २६ जनामा कोरोना सङ्क्रमण भएको हो । कार्यरत रहेकामध्ये अधिकांशलाई कोरोना सङ्क्रमण भएसँगै कार्यालय सिल गरिएको छ ।
थापाका अनुसार वडाबाटै नमूना सङ्कलन गरिएका अन्यको नतिजा आउन बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । रासस