Logo

निकोसेरा घटनाको सत्यतथ्य खोज्दै प्रहरीः हत्यापछि आत्महत्याको आशंका



भक्तपुर, २८ भाद्र । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा तीनै जना मृत अवस्थामा भेटिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी पसिसर भक्तपुरले अनुसन्धान शुरु गरेका छन् ।

निकोसेरामा भएको घटना र शवको प्रकृति हेर्दा पत्नी ३४ वर्षीया सम्झना अधिकारी र छोरा १५ वर्षीय सुशान्त अधिकारीको धारिलो हतियार प्रहार गरी हत्यापछि ३६ वर्षीय सुदीप अधिकारीले विष सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

शुक्रबार मध्यपुर नगरपालिका–९ निकोसेरामा उनीहरु शंकास्पद अवस्थामा फेला परेका थिए । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आमा र छोरा दुवैको टाउकोमा गहिरो चोट लागेको देखिएकाले सुदीपले दाउ प्रहार गरी हत्या गरेर आफँले विष सेवन गरेर आत्महत्या गरेको जस्तो देखिन्छ ।

ती अनुसन्धान अधिकृतका अनुसार भित्तामा समेत रगतको छिर्का देखिएको छ । फरेन्सिक विज्ञसहितको टोलीले जाँच गर्दा दुवैको टाउकोमा गहिरो चोट छ भने सुदीपको बाहिरी चोट देखिँदैन। घटनास्थलबाट दाउसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

आमा छोराको शवमा किरासमेत परिसकेकाले ४–५ दिन पहिले नै घटना भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। सुदीपले वान्ता गरेको देखिएकाले उनले विष सेवन गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

भान्सामा रहेका भात, तरकारीलगायत केही खानेकुरामा पनि विषको जस्तो गन्ध आएकाले परीक्षणका लागि प्रयोगशालामा पठाउने तयारी प्रहरीले गरेको छ । कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

भक्तपुर प्रहरी पसिरसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले शव पोस्टमार्टमका लागि पठाइएकाले घटनाको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र एकिन हुने बताउनुभयो । प्रहरीले शंकास्पद मृत्यु भएको बताए पनि घटनाको विषयमा विस्तृत जानकारी आइसकेको छैन । ‘हामीले अनुसन्धान थालेका छौं, घटनाको यथार्थ पत्ता लगाएर सार्वजनिक गर्नेछौं।’ –गिरीले भन्नुभयो ।

मृतकका भाइ सुनिल अधिकारी शुक्रबार घरमा पुग्दा घरको दोस्रो तल्लामा कुकुर र सम्झना अधिकारीको शव, तेस्रो तलामा सुशान्त र माथिल्लो तलामा सुदीप अधिकारीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार आमा र छोराको शव गन्हाउन थालेको अवस्थामा छ भने बुबाको शव भने एक–दुई दिनअघि मात्र मृत्यु भएको जस्ता देखिने अवस्थामा छ। सम्झनाको शव अर्ध नग्न अवस्थामा थियो। छोरा सुशान्तको शव पनि खाटमै घोप्टो परेको अवस्थामा भेटिएको थियो।

घटनास्थल पुगेका प्रत्यक्षदर्शीका अनुसार हत्या केही दिन पहिले भएको जस्तो देखिन्छ । घटना कहिले भएको र कसले गरेको भन्ने अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीले भने महानगरीय प्रहरी वृत्त थिमिको एक किलोमिटर भन्दा पनि नजिकको दूरीमा यत्रो ठूलो घटना हुँदा पनि प्रहरीले यत्तिका दिनसम्म सुईंको नपाउनु प्रहरीको धेरथोर सुरक्षा कमजोरी भएको गुनासो गरेका छन् ।

शहरकैबीच सडक छेउकै घरमा शव गन्हाइरहेको अवस्थामा पुगिसक्दा पनि प्रहरीले सुईंको नपाउनुले प्रहरीको कार्यकुशलतामा कमजोर भएको जस्तो देखिएको मृतकका आफन्तको भनाइ छ । घटनाबारे जानकारी पाएलगत्तै भक्तपुर प्रहरी पसिरसरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा र महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक दीपक थापा घटनास्थलमा पुग्नुभएको थियो ।

प्रहरी अधिकारीका अनुसार घरको कुनै पनि ढोका लगाइएको थिएन, ढप्क्याइएको मात्र थियो । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले निषेधाज्ञाका कारण घरमा मानिसको चहलपहल नहुँदा पनि छिमेकीले वास्ता नगरेको हुन सक्ने बताउनुभयो । प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढाएको छ ।

अधिकारी दम्पती पछिल्लो समय आफ्नै घरको भुइँतलामा किराना पसल गर्दै आएका थिए । सुदीप केही समयअघिसम्म भक्तपुरमै रहेको एक औषधी फ्याक्ट्रीमा काम गर्ने गरेको बताइएको छ। पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् । छोरासँग पनि उनको झगडा पर्ने गरेको छिमेकीहरुले बयान दिएका छन् ।

मध्यपुर थिमि नगरपालिका–९ का वडाध्यक्ष रामकाजी चक्रधरले उनीहरुको पुख्र्यौली घर भने सोही नगरपालिका–६ मा पर्ने र पछि घर बनाएर उनीहरु यहाँ सरेको जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध अनसन्धान महाशाखाका एसएसपी दीपक थापाले घटनाको प्राविधिकदेखि अन्य पक्षबाट अनुसन्धान शुरु गरिसकेको बताउनुभयो । थापाले भिन्न–भिन्न तीनचारवटा कोणबाट घटनाको अनुसन्धान भइरहेको बताउनुभएको खबर आजको समाचारपत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्