Logo

संक्रमित ७ हजारभन्दा धेरै जनता घरमा, मेयर शाक्य पाँच तारे होटलमा



भदौ २८, काठमाण्डौ । काठमाडौं उपत्यका लगाएत देशभर कोरोना संक्रमणको चपेटामा छ । बन्दाबन्दी पश्चात पनि हरेक दिन संक्रमितको संख्या बढ्दो छ । पछिल्ला दिनमा काठमाण्डौ जिल्लामा दैनिक ३ देखि ५ सयको हाराहारमीमा संक्रमित थपिइरहेका छन् । तर काठमाण्डौ महानगरपालिकाले संक्रमितलाई उपचारको व्यवस्था गर्न सकेको छैन । जसका कारण अधिकांश संक्रमितलाई लक्षण नदेखिएको भन्दै घरमै राखिएको छ ।

अहिले ७ हजार ३ सय ८७ जना संक्रमित घरमै छन् । तिमध्ये अधिकांश काठमाण्डौका रहेका छन् । यसबाट के बुझ्न सकिन्छ भने महानगरले कोरोनाको जोखिमलाई मध्येनजर गर्दै पूर्वतयारी गर्न सकेन । बिडम्बना नै भन्नुपर्छ महानगरकै मेयर विद्यासुन्दर शाक्य यतिबेला कोरोना संक्रमण भएर होटल हाइसोलेसनमा बसेका छन् । त्यो पनि सम्भवत देशकै महङ्गो फाइभस्टार होटल सोल्टी क्राउन प्लाजामा । नागरिकलाई संक्रमण भए पनि घरमै बसिदिन आग्रह गरेर थप जोखिम निम्त्याइरहेको महानगरका प्रमुख भने महङ्गो पैसा खर्च गरेर सोल्टी होटलमा बसेका हुन् ।

मेयर शाक्यले अहिले श्रीमती र छोरालाई पति त्यही होटलमा राखेका छन् । तर आफू र परिवार कहाँ छु भन्ने कुरा मेयर शाक्यले सार्वजनिक गरेका छैनन् । होटल सोल्टीले भने मेयर शाक्यका बारेमा व्यक्तिगत कुरा भएकाले जानकारी दिन नमिल्ने बताएको छ । नागरिक स्तरबाट आलोचना हुने भन्दै महानगरपालिकाले मेयर शाक्यको होटल बसेको बिषयमा उक्त होटलका सञ्चालकहरुले समेत खुलेर बताउन चाहेको छैन । होटलका म्यानेजर हिमेश विष्टसँग कुरा गर्दा मेयर शाक्य होटलमा नबसेको दावी गर्न सकेनन् । उनले सबैलाई आफ्ना ग्राहकको रुपमा तोकिएको मूल्य तिराएर राखिने बताए । साथै ठूला व्यक्तिका बारेमा सुचना दिन पनि नसकिने बताए ।

यता काठमाडौ महानगरपालिकाका प्रवत्क्ता ईश्वरमान डंगोलले पनि मेयर शाक्यबारे आफुलाई कुनै सुचना र जानकारी नभएको बताए । उनले केही दिनअघिसम्म मेयर शाक्य घरमै रहेको जानकारी पाएको कुरा भने लुकाएनन् ।

भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा बस्ने बताएका मेयर शाक्य केही दिन घरमा बसेर परिवारसहित तारे होटलमा सरेका हुन् । सोल्टी होटल स्रोतका अनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय अन्य सुविधासहित दैनिक करिब २० हजार रुपैयाँ शुल्क लाग्ने गरि बसेका छन् ।

कोरोना संक्रमण भइसकेपछि जोकोहीले जतिसक्दो राम्रो उपचार पाउनुपर्छ । मेयर शाक्यले पनि सुरक्षित भएर व्यवस्थित निगरानीमा बस्नु नराम्रो होइन । तर आफू महङ्गो शुल्क तिरेर होटलमा बसेको कुरा उनले किन सार्वजनिक गर्न चाहेनन् भन्ने गुनासो आइरहेको छ ।

यस बिषयमा मेयर शाक्यसँग बुझ्न खोज्दा उहाँको मोवाइल कहिले स्विच अफ त कहिले फोन नै उठ्दैन । मेयर शाक्य र उनका परिवार महङ्गो शूल्क लाग्ने होटल आइसोलेसनमा बसेको पैसा कसले बेहोर्छ भन्ने प्रश्न उब्जिएको छ ।



प्रतिक्रिया दिनुहोस्