भक्तपुर, २९ भाद्र । महानगरीय प्रहरी बृत्त थिमिका ३० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सो बृृत्तका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने बृत्तमा रहेका ५ जना थुनुवामा पनि संक्रमण देखिएको थियो । महानगरीय प्रहरी परिसरका ४ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको थियो ।
आइतबारको नियमित प्रेस मिटमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार प्रहरी सहित भक्तपुरमा ८१ संक्रमित थपिएका छन् । पछिल्लो तथ्यांक अनुसार भक्तपुरमा कोरोना संक्रमितको संख्या ९९३ पुगेको छ । पुरुष ५७७ र महिला ४१६ जना रहेका छन् । आइतबार भक्तपुरमा देखिएको संक्रमण ३० जना भने प्रहरी रहेका छन् । ५१ जना सर्वसाधरणमा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुर जिल्लामा आईतबार हालसम्मकै धेरै अर्थात ८१ जनामा कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको भएता पनि ८२ जनाको नामावली आएको जानकारी दिएको छ ।भक्तपुर जिल्लामा कोरोना पोजेटिभ भएका १२ जना सम्पर्क विहिन भएका छन् ।
स्वास्थ्य कार्यालय भक्तपुरकी जनस्वास्थ्य अधिकृत निष्ठा बल्लका अनुसार भक्तपुर तोकिएर आएका १२ जना संक्रमित सम्पर्कमा आएका छैनन् ।कतिको सम्पर्क नम्बर गलत रहेको र कसैले जति सम्पर्क गरेर पनि मोबाइल नउठाएको उहाँको भनाई छ ।कसैको स्पष्ट ठेगाना नखुल्दा पनि सम्पर्कविहीन भएको जनस्वास्थ्य अधिकृत बल्लले बताउनुभयो ।यसरी सम्पर्क विहिन हुँदा उनीहरुबाट पनि समुदायमा कोरोना संक्रमण फैलन सक्ने सम्भावना अझ बढेको देखिन्छ ।
कोरोना भाइरस संक्रमणले भक्तपुरमा मर्नेको संख्या १३ पुगेको छ। पछिल्लो समय भक्तपुर नपाका कोरोना भाइरस संक्रमण हुने दर बढेको छ। तर ३ सय ४९ जनाले कोरोना भाइरस संक्रमणलाई जितेको अधिकृत बल्लले बताउनुभयो ।भक्तपुर नपा २ निवासी भक्तपुर क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई समेत कोरोना भाइरस संक्रमण भएको छ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिवसमेत रहेका सांसद सुवाल अहिले होम आइसोलेसनमा हुनुहुन्छ ।
त्यस्तै भक्तपुर नपाका दुई वडा अध्यक्ष र दुई वडा सदस्यलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। उहाँहरु संक्रमण उपचारको लागि आइसोलेसनमा रहनुभएको खबर आजको समाचापत्रले प्रकाशन गरेको छ ।