Logo

मोबाइलबाटै दशैंको दक्षिणा



काठमाडौं, भदौ २९ । नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर केही बैंकले दक्षिणा मोबाइल बैंकिङबाटै प्रदान गर्न सकिने स्किमसहितको प्रडक्ट बजारमा ल्याउने तयारी गरेका छन् । नगदको डिजिटल कारोबारलाई प्रोत्साहनमा जोड दिइरहेका बैंकहरूले यस्तो प्रडक्टको तयारी गरेका हुन् ।

यद्यपि विगतका वर्षहरूमा समेत सानिमा बैंक, एनआईसी एशिया बैंक लगायतले यस्तै प्रकृतिका प्रडक्ट बजारमा ल्याएका थिए । यसबाहेक दशैं नजिकिँदै गर्दा बैंकहरूले डिजिटल माध्यमबाट किनमेल गर्दा पनि विभिन्न छूट दिने गरेका थिए ।

गतवर्षको दशैंमा दक्षिणा मोबाइल बैंकिङमार्फत सीधै बैंक खातामा पठाउने व्यवस्था गरेको सानिमा बैंकले यसपटक पनि यस्तो प्रडक्ट बजारमा ल्याउने तयारी गरिरहेको छ । हरेक चाडपर्वलाई लक्षित गर्दै प्रडक्ट निकाल्दै आएको बताउँदै बैंकका प्रडक्ट शाखा प्रमुख विक्रम श्रेष्ठले यस वर्षको दशैंमा पनि मोबाइलबाट दक्षिणा पठाउने स्किम ल्याउनेबारे छलफल भइरहेको जानकारी दिए ।

गतवर्ष दशैंमा मोबाइलबाट दक्षिणा दिनेलाई प्रत्येक दिन गोलाप्रथा गरेर बैंकले एकजनालाई स्मार्टफोन उपहार दिएको थियो । यसरी गतवर्ष सञ्चालन गरेको प्रडक्टले बैंकको कारोबार करीब ६० प्रतिशत बढेको श्रेष्ठको दाबी छ । बैंकले अघिल्ला वर्षका चाडपर्वमा कार्ड र क्यूआर कोडमार्फत कारोबार गर्दा १० प्रतिशत नगद फिर्ता अफर दिएको थियो ।

गतवर्ष पनि ल्याइएको गरेको उक्त प्रडक्टबाट सानिमा बैंकका ग्राहकले दक्षिणा दिने व्यक्तिलाई उसको जुनसुकै बैंकको खातामा दक्षिणा जम्मा गर्न सक्ने सुविधा दिइएको थियो । यो सुविधा प्रयोग गर्ने ग्राहकले सम्बन्धित व्यक्तिको बैंक खातामा उसको मोबाइल नम्बर राखेर दक्षिणा बराबरको रकम पठाउने गरेका थिए ।

नबिल बैंकले पनि दशैंमा दक्षिणा डिजिटलबाट दिने प्रडक्ट ल्याउने सोच बनाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्