काठमाडौं, २९ भदौ । नायिका तथा समाजसेवी एलिजा गौतम धमलाले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नम्बर ७ स्थित् नापुजे, भीरखर्क र नेवाल टोलमा भीषण पहिरोको कारण प्रभावितहरुलाई लत्ताकपडालगायत खाद्यान्न सहयोग गरेकी छिन् । नायिका गौतमले ९० घरलाई राशनपानी, ब्ल्यांकेट र सिरानी प्रदान गरेको सामाजिक सञ्जाल फेशबुकमार्फत जानकारी गराएकी छिन् । उनी काठमाडौंदेखि नै गाडीमा राहत सामग्री बोकेर सिन्धुपाल्चोक पुगेकी हुन् ।
उनले फेशबुकमा लेखेकी छिन्,“आज मेरो मन सम्हाल्न धेरै गाह«ो भयो । तस्बिरमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागफुजे, भीरखर्क हिजो राति पहिरोले एउटा गाउँनै लग्यो । ९० घरलाई रासनपानी, ब्ल्यांककेट र सिरानीलगायतका अत्यावश्यक सामग्री वितरण गरेको छु । उहाँहरुको मुहारमा आज एक दिनको लागि भएपनि हाँसो ल्याउन सकेकोमा म एकदमै खुशी छु । यसरीनै सबै दाजुभाइ तथा दिदिबहिनीको मुहारमा सधैंभरि खुशी देख्ने मन छ ।” पहिरोले उक्त ठाउँमा धेरै ठूलो मानवीय एवम् भौतिक क्षति पुगेको छ । अझैपनि बेपत्ताहरुको खोजी कार्य जारी छ ।
नायिका गौतमले दुई लाख बराबरको सहयोग गरेको जनाएकी छिन् । नायिका गौतम पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय छिन् । केही दिनअघिमात्रै उनले काठमाडौंको खुल्लामञ्चमा भोकाहरुलाई खाना खुवाउने अभियानमा सरिक भएर आर्थिक सहयोग गरेकी थिईन् । आफ्नो व्यक्तिगत र घरखर्च कटाएर भएपनि उनले विपन्न, दुःख र पीडामा परेकाहरुको लागि आर्थिक सहयोग गर्दै आएकी छिन् । र, आगामी दिनमा आफूलाई समाजसेवामा सक्रिय राख्ने उनको योजना छ ।
Photo Source: Kushal RaEe