Logo

शंकर ग्रुपको लुटधन्दाः सबै कम्पनीमाथि व्यापक छानबिन हुँदै



काठमाडौं, असोज १। सर्वसाधारण जनतालाई विभिन्न झुटा नारा र आश्वासन दिएर ठगी गर्दै आइरहेको शंकर ग्रुपको लुटधन्दा पर्दाफास हुने क्रम जारी छ ।

ग्रुपले ‘देशको मेरुदण्ड’ को भ्रामक नारा दिँदै बिक्री वितरण गर्दै आइरहेको जगदम्बा स्टिल्सद्वारा उत्पादित रड नै गुणस्तरहीन भेटिएपछि सरकारले सो रड बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ ।

एक पछि अर्को गर्दै विभिन्न लुटधन्दा सार्वजनिक हुन थालेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीमाथि एकै पटक छानबिन गर्ने तयारी गरेको छ ।

यसअघि शंकर ग्रुपमै संलग्न सुलभ अग्रवालले कोरोना महामारी सुरु हुनै लाग्दा थर्मल गनको व्यापक कालोबजारी गर्दै सर्वसाधारणलाई ठगी गरेपछि प्रहरी फन्दामा परेका थिए ।

गत २५ चैतमा पक्राउ परी १८ वैशाखमा साढे २५ लाख धरौटीमा रिहा भएका अग्रवालमाथिको छानबिन प्रक्रिया अझै जारी छ । सो समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि सुलभलाई केही समय नियन्त्रणमा लिएर लकडाउन पछि छानबिन गर्ने भन्दै छोडेको थियो । तर, लकडाउन सकिए पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुलभमाथिको छानबिनलाई तीव्रता दिन सकेको छैन ।

विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने सुलभ अग्रवाल मात्रै नभएर शंकर ग्रुपद्वारा सञ्चालित सबै कम्पनीमाथि छानबिन थालिएको जानकारी दिए । ‘विभिन्न सूचनाका आधारमा शंकर ग्रुप र ग्रुपको सम्पूर्ण लगानीमाथि गम्भीर छानबिन गरिरहेका छांै,’ महानिर्देशक भट्टराईले भने ।

स्रोतका अनुसार शंकर ग्रुपले विभिन्न अवैधानिक बाटा प्रयोग गरेर सरकारलाई ठगीसमेत गर्दै आइरहेको छ । ‘एकातिर उपभोक्ता ठगिएका र अर्कातर्फ सरकारसमेत ठगिएकाले पनि यस्ता कथित घरानियाँमाथि गम्भीरतापूर्वक छानबिन हुनुपर्ने माग उपभोक्ताकर्मीले गर्दै आइरहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्