Logo

अख्तियारलगायत संवैधानिक अङ्गमा नियुक्ति प्रक्रिया बढ्ला ?



काठमाडौं, १ असोज । आज प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच महत्वपूर्ण भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा तीन नेताले संवैधानिक अङ्गमा नियुक्तिबारे छलफल गरेका थिए ।

आजको बैठकमा नेकपा महासचिव विष्णु पौडेल र काँग्रेस नेता रमेश लेखक पनि सहभागी थिए । कानुनका पनि जानकार भएकाले देउवाले आफ्ना विश्वासपात्र लेखकलाई लिएर बालुवाटार पुगेका थिए । भेटवार्तामा काँग्रेसका तर्फबाट रिक्त संवैधानिक अङ्गमा के कति पद संख्या पाउने हो भन्नेबारे छलफल भएको बुझिएको छ । देउवाले अख्तियारमा एक आयुक्त पाउनुपर्ने दाबी राखेको विश्वस्त स्रोतले जानकारी दिएको छ । त्यसबाहेक विभिन्न संवैधानिक आयोगहरुमा समेत बाँडफाँडबारे छलफल चलेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त र दुई आयुक्तको रिक्त पदका लागि कुरा मिलाउन छलफल केन्द्रित भएको थियो । भागवण्डाबारेको कुराकानीमा सकारात्मक प्रगति भएको बुझिएको छ ।

अख्तियारमा आयुक्तको आकांक्षीमा धेरैजना रहेकाले नेताहरु समेत दबाबमा छन् । अख्तियारमा एक दर्जन प्रतिष्पर्धी रहेको बुझिएको छ । अख्तियारका अलावा दलित, महिला, वित्तलगायतका आयोगहरुमा पद रिक्त रहेको छ ।

संवैधानिक आयोगको नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बसी निर्णय लिनुपर्ने हुन्छ । परिषद्मा प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख रहने व्यवस्था छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्