Logo

औषधि उद्योगको कच्चा पदार्थमा भ्याट छूट बजेटमै सीमित



वीरगञ्ज, असोज २ । सरकारले स्वदेशी औषधि उद्योगको प्रवद्र्धनका लागि चालू आर्थिक वर्षको बजेटमार्फत कच्चा पदार्थ र प्याकिङ मेटेरियलमा मूल्यअभिवृद्धि कर (भ्याट) छूट दिने घोषणा गरे पनि यसको कार्यान्वयन भएको छैन । उद्योगीले तीन दर्जनभन्दा बढी यता वस्तु आयात गर्दा अहिले पनि भ्याट तिर्नुपरेको बताएका छन् ।

औषधि उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ र सहायक कच्चा पदार्थको आयातमा मूल्यअभिवृद्धि कर तिर्नुपरेको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए । ‘सरकारले चालू आर्थिक वर्षको बजेटमा भ्याट छूटको घोषणा गरे पनि भन्सार कार्यालयहरूले यस्तो कर लिइरहेका छन्,’ महासचिव अधिकारीले भने ।

कच्चा पदार्थ र प्याकिङ मेटेरियल आयतमा सहुलियत दिने बजेटको व्यवस्थालाई आर्थिक ऐनमा छुटाइएकाले भन्सारले आयातमा भ्याट असुल गरेका हुन् । बजेटको व्यवस्था कार्यान्वयन नभएपछि उत्पादकले अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालयदेखि प्रधानमन्त्रीको कार्यालयसम्म ऐन सच्याउन माग गरे पनि अहिलेसम्म सुधार नभएको संघका निवर्तमान अध्यक्ष दीपक दाहालको भनाइ छ ।

सरोकारका अधिकारीहरूले बजेटमा घोषणा भएको छूट आर्थिक ऐनमा छुटेको स्वीकार गरे पनि बजेट आएको साढे ३ महीना बितिसक्दा पनि सहजीकरण नगरेको आरोप दाहालले लगाए । कच्चा पदार्थमा भ्याट लागेपछि उत्पादकले यस्ता वस्तुको आयात घटाएका छन् । अत्यावश्यक अवस्थामा मात्रै आयात गरेका छन् ।

जीवनजलको मुख्य कच्चा पदार्थ डेक्ट्रोजमा भ्याट लिन थालेपछि औषधि उद्योगले यसको उत्पादन घटाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्