Logo

निमुखाको भरोसा बन्दै डा केसी



जुम्ला, असोज २ । दुई दशकअघि डा गोविन्द केसी पहिलो पटक दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवा गर्ने उद्देश्यले जुम्ला आएका थिए । त्यति बेला उनी दुई साता जुम्ला बसे । उनले दुर्गममा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा र उपचारबारे पनि सिकाए । जुम्ला, मुगु र कालिकोटका स्वास्थ्यकर्मीसँग सीप र अनुभव आदानप्रदान गरे ।

त्यो बेला कर्णालीमा विशेषज्ञ चिकित्सकको त कुरै छोडौं, एमबिबिएस उत्तीर्ण पनि पाउन कठिन थियो । कार्यालय सहयोगीले स्वास्थ्य संस्था चलाउँथे । जिल्ला अस्पताल पनि एचए र स्टाफनर्सको भरमा हुन्थे । गाउँमा औषधि र दक्ष स्वास्थ्य जनशक्ति नहुँदा सामान्य रोगलेसमेत मानिसको मृत्यु हुन्थ्यो । त्यो बेला केसी जुम्ला आउँदा जुम्लीले उनलाई भगवान् जस्तै ठानेका थिए ।

केसी फरकफरक समयमा तीन पटक जुम्ला आइसकेका छन् । पहिलोचोटी स्वास्थ्य सेवा दिन जुम्ला आएका केसी पछिल्ला दुई पटक कर्णालीमा एमबिबिएस तहको पढाइ हुनुपर्ने मागसहित सत्याग्रह बस्न आएका हुन् । उनी भन्छन्, ‘म देशका ७७ वटै जिल्ला पुगेको छु । जिल्ला–जिल्लाको स्वास्थ्य सेवा र शिक्षाको अवस्थाबारे जानकारी राख्छु । जहाँ पुग्यो त्यहाँ लथालिंग र भताभुंग अवस्था देखिन्छ । व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिएन । अवस्था फेर्न मेरो सत्याग्रह हो ।’

रामेछाप जिल्लाको खड्कदेवी गाउँपालिकामा जन्मिएका केसी सानैदेखि अन्याय नसहने र हुन नदिने स्वभावका थिए । आफू पनि अन्याय नगर्ने र कसैले त्यस्तो गरे नसहने स्वभावका उनी पछिल्लो समयमा स्वास्थ्य र शिक्षा क्षेत्रमा मौलाएको नाफाखोरी, शोषण, अन्याय र विभेदविरुद्ध संघर्षरत छन् । ‘म पनि दुर्गम ठाउँमा जन्में, त्यहीं गाउँमा हुर्कें । पढेपछि देशका सबै जिल्ला पुगें । सबै जिल्लाको स्वास्थ्य र शिक्षाको अवस्था बुझें,’ केसी भन्छन्, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा भइरहेको अन्याय टुलुटुलु हेरेर बस्न सक्दिनँ ।’

केसीले एमबिबिएस, एमडी, एमएस र फेलोसिप विदेशमै गरे । एमबिबिएस पढेर आइसकेपछि उनी निरन्तर स्वास्थ्य सेवामा छन् ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्