Logo

कुलमानको प्राधिकरणमा पुर्ननियुक्ति होला ?



काठमाडौं, ३ असोज । नेपाल विद्युत प्राधिकरणमा आफ्नो पुर्ननियुक्तिको माग राखी सडक प्रदर्शनहरु हुनथालेपछि आज कुलमान घिसिङले मुख फोरेका छन् । उनले विज्ञप्ति जारी गरी आफ्नो पुर्ननियुक्तिको माग राखी सडकमा प्रदर्शन नगर्न आग्रह गरेका हुन् ।

कुलमानको पक्षमा सडक प्रदर्शनहरु भइरहँदा उनको विज्ञप्ति आउनुलाई अर्थपूर्ण मानिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र कुलमानको पुर्ननियुक्तिको विषय उठिरहेको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नताहरु माधवकुमार नेपाललगायतले कुलमानको पुर्ननियुक्तिमा जोड दिइरहेका छन् ।

प्रचण्डले ओलीलाई पटक पटक भेटर कुलमानलाई पुर्ननियुक्ति गर्न आग्रह गरेका छन् । तर, ओली मानिरहेका छैनन् ।

ऊर्जामन्त्री वर्षमान पुनले मन्त्रिपरिषद्मा कुलमानको पुर्ननियुक्तिको प्रस्ताव सोमबार लगेका थिए । तर, त्यो अगाडि बढ्न सकेन । उनले सार्वजनिक रुपमै कुलमानको पुर्ननियुक्ति हुने बताइरहेका छन् ।

कुलमानले फेरि ४ वर्ष पुर्ननियुक्तिको सम्भावना देखिरहेका छन् । त्यसैले उनले सरकारमा रहेकालाई चिढ्याउन चाहेका छैनन् । सामाजिक सञ्जालमा आफ्नो पक्षमा बोलेर सरकारलाई गाली गर्दा नोक्शान परेको उनले बुझेको हुनसक्छ । प्रधानमन्त्रीका विश्वासपात्र निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले पनि कुलमानको पुर्ननियुक्तिबारे पत्रकारको प्रश्नमा त्यो सामाजिक सञ्जाललाई जानकारी होला भनी उत्तर दिएका थिए । कुलमानको लोकप्रीयता देखेर बालुवाटार समेत गम्भीर भएको हुनसक्छ । कुलमानको समर्थनमा सरकारमा रहेकाहरुले गाली खानु परेको कारण यसलाई बालुवाटारले पनि सकारात्मक रुपमा नलिएको हुनुपर्छ ।

अब कुलमानको पुर्ननियुक्तिको सम्भावना टरिसकेको भने छैन । नेकपा नेताहरुको पछिल्लो अभिव्यक्तिले त्यो संकेत गरिरहेको छ । स्वयं ऊर्जामन्त्रीले कुलमानको पुर्ननियुक्ति हुने बताइरहेका छन् । तर, ओली कुलमानप्रति आश्वस्त नभई त्यो सम्भव छेन । जुन निकै कठिन छ ।



प्रतिक्रिया दिनुहोस्