Logo

तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माण शुरु



दमौली, ४ असोज । एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेज अन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम शुरु भएको हो । प्रशारण लाइन निर्माणका लागि शुक्रबार शुरुको टावरको जग खनेर कार्य शुरुवात गरिएको तनहुँ जलविद्युत आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कामको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ । प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनिएको र अब कामलाई तीव्रता दिने घिमिरेले बताउनुभयो । घिमिरेका अनुसार प्रसारण लाइनका लागि ३० वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मार्चसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

घिमिरेका अनुसार प्रसारण लाइन निर्माणका लागि आवश्यक टावरहरु भारतीय सीमानामा आइसकेको छ । हिउँद समय शुरु भएकाले काम गर्न सहज हुने विश्वास लिइएको घिमिरेले जानकारी दिनुभयो । केही अघि नै प्रसारण निर्माणको काम सुरु गरिने लक्ष्य रहेको भए पनि कोभिड–१९ को कारण केही पछि धकेलिएको उहाँले बताउनुभयो ।

प्रसारण लाइन निर्माणका लागि तनहुँतर्फको भागमा ७ हजार ९ सय २३ वटा रुखहरु काट्नुपर्ने हुन्छ । चितवनतर्फको भागको पनि अध्ययन भइरहेको घिमिरेले जानकारी दिनुभयो आयोजनाका लागि एक सय चालिस मिटर बाँध, एक हजार १ सय ६२ मिटर र ७४ मिटर को मुख्य सुरुङ, ८९ मिटर लम्बाई, २२ मिटर चौडाई र ४४ मिटर उचाई भएको भूमिगृत विद्यृतगृह निर्माण गरिनेछ ।

खुद उचाई १२१ मिटर रहने आयोजनाबाट सुख्खायामा १७८.९० मेगावाट र वर्षायाममा ३२३.६८ मेगावाट उर्जा उत्पादन गर्नेछ । आयोजनाको कुल लागत ५०५ मिलियन अमेरिकी डलर प्रसारण लाईन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत रहेको छ । जाइकाले दोस्रो प्याकेज अन्तर्गतका कामका लागि रु १८४ मिलियन डलर बेहोर्ने समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्