Logo

उत्पादित वस्तु बजारीकरण गर्न समस्या



देउखुरी, ४ असोज: रुकुमका धनीराम कुसारीले घोराही उपमहानगरपलिका–१७ गैरागाउँमा सिद्धबाबा गाई फार्म सञ्चालन गरेका छन् । रुकुमको बाफिकोट गाउँपालिका–२ बाट दाङमा बसाइँ सरेका उनले व्यावसायिक गाई फार्म च्संचालन गरेको चार वर्ष भयो । दुई बिघा जमीनलाई वार्षिक रु डेढ लाख तिर्ने शर्तमा भाडामा लिएका छन् ।

पाँचवटा उन्नत जातका गाईबाट व्यवसाय शुरु गरेका कुसारीका १० दुहुना गाई र छवटा भैँसीबाट दैनिक रु २५० लिटर दूध उत्पादन हुने गरेको उनले बताए । “आफैँले केही गर्नुपर्छ भन्ने सोच आएपछि इन्टरनेटमा हेरेर गाईका बारेमा अध्ययन गरेर कामको शुरुआत गरेको हुँ । कर्जामा शुरु गरेको व्यवसायले परिवारको पालनपोषण, शिक्षादीक्षाको खर्च धान्दै महिनावारी कर्जा चुक्ता गर्दै आइरहेको थिएँ”, उनले भने । व्यावसायिक रुपमा काम गर्न थालेपछि राम्रो आम्दानी भएको थियो तर छ महिना लामो बन्दाबन्दीका कारण दानाको अभाव र दूधको बिक्री नहुँदा उनलाई निकै चिन्तित तुल्यायो ।

आत्मविश्वास र दृढ सङ्कल्पका साथमा काम गरे आफ्नै मेहनतले सुन फलाउन सकिन्छ भन्ने भनाइलाई पूरा गरेका छन्, घोराही उपमहानगरपालिका–६ चैनपुरका खडकबहादुर वली र दिलबहादुर वलीले । देउराली बहुउद्देश्यीय कृषि फार्मको नामबाट व्यावसायिक रुपमा स्थानीय जातका कुखुरापालन शुरु गरेर वली दाजुभाइ सबैलाई प्रेरणाको स्रोत बनेका छन् ।

घर नजीकैको आफ्नो जमीन र अलिकति भाडाको जमीनलाई जोडेर डेढ बिघामा व्यावसायिक रुपमा कुखुरा पालन गरेका छन् । उनीहरुले रु २० लाख लगानी गरेर एक हजार कुखुरा अटाउने खोर बनाएका छन् । दुई लटको कुखुरा बुटवल र अर्घाखाँचीमा बिक्री गरेका उहाँहरुले अहिले भने बजारको समस्याका कारण व्यवसाय नै धरापमा परेको खडकबहादुर बताए । बजारको राम्रो व्यवस्थापन नहुँदा सोचेजस्तो आम्दानी नभएको उनको भनाइ छ । कृषि तथा पशुपालनको उत्पादनलाई स्थानीय तहले उचित मूल्यमा खरिद गर्ने र बजारीकरणको व्यवस्था हुने हो भने व्यवसायमा धेरैको आकर्षण हुनसक्ने दिलबहादुरको धारणा छ ।

युवाहरुलाई कृषिमा संलग्न गराउने उद्देश्यले घोराही उपमहानगरपालिकाले बजेट छुट्याएको बताए, घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी । “कृषि र पशुपालनलाई प्राथमिकतामा राखेर कार्यक्रम अगाडि सारेका छौ । ‘एक वडा एक उत्पादन’को कार्यक्रमलाई निरन्तरता दिँदै तरकारी बजारको व्यवस्था गरेका छौ”, उनले भने ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्