तनहुँ, ५ असोज । अबैध रुपमा रहेको क्रसर उद्योग बन्द गर्न माग गर्दै पाँच राजनीतिक दलले सोमबार बन्दिपुर गाउँपालिकामा ज्ञापन पत्र बुझाएका छन् । अबैध रुपमा क्रसर उद्योग तत्काल बन्द गर्न लगायत अहिले भइरहेका कामको विवरण तत्काल सार्वजनिक गर्न माग गर्दै गाउँपालिकाका प्रमुख पुर्णसिङ थापा समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमार्फत बन्दिपुर ६ सराङघाटस्थित सेतीनदीको तिरमा २-३ वर्षदेखि अबैध रुपमा क्रसर उद्योग स्थापना एंव संचालन गर्दै प्राकृतिक श्रोत साधनको दोहन गरी करोडौ रुपैयाँको राजस्व छल्ने क्रममा निरिह बनेकोमा उक्त उद्योगलाई तत्काल बन्द गरी लिलाम बिक्रि गरी संचालकलाई कारवाही गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेस, जनता समाजवादी दल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल कम्युनिस्ट पार्टी माओवादी (क्रान्तीकारी) ले संयुक्त रुपमा गाउँपालिकाका अध्यक्ष थापासमक्ष गाउँपालिका अन्र्तगत हाल भईरहको कामको विवरण सार्वजनिक गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।
विज्ञप्तीमार्फत व्यवसाय कर, युवा स्वरोजगार कार्यक्रममा भएको पक्षपात पुर्ण व्यवहार, बाढी पहिरोका पिडितलाई राहत वितरण, कोरोनाको बन्दाबन्दीको बीचमा भएका कामका विवरण, अस्स्पतालमा औषधीको अभाव, अवैध तरिकाले कर्मचारी नियुक्ति जस्ता विषयको सत्यतथ्य विवरण सार्वजनिक गर्न माग गरेका छन् ।
बन्दिपुर गा. वि.स बाट नगरपालिका हुँदै गाउँपालिका सम्म आइपुग्दा सहमती सहकार्य गर्दै आएको तर पछिल्लो समयमा भने गाउँपालिकाले प्रमुख प्रतिपक्ष दल लगायतका विपक्षी दललाई उपेक्षा गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेसको तर्फबाट कर्ण बहादुर खत्री, जसपाको तर्फबाट ताराबाबु भट्टराई, रा.प्र.पाको तर्फबाट गोवर्धन भट्टराई र नेकपा (माओवादी)को तर्फबाट सुन्दर लाल श्रेष्ठले हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाएका हुन् ।