Logo

भारतको अमेरिकासँगको सम्बन्धको सामरिक महत्व



विपिन देवः स्वामी विवेकानन्दको सिकागोको अभिभाषणलाई भारत–अमेरिकाको आधार–स्तम्भ मान्न सकिन्छ । विवेकानन्दले आफ्नो सम्मोहन अभिव्यक्तिबाट भारतको यथार्थ चरम गरिबी, उच्च बौद्धिक दर्शन र ब्रिटिश इष्ट इण्डिया कम्पनीले गरेको शोषण र दमनको बारेमा अमेरिकी जनसमुदायलाई अपिल गरे । वास्तवमा भन्ने हो भन्ने विवेकानन्दको यात्रा ताका अमेरिकीहरुको मानसपटलमा भारत प्रति मिश्रित अवधारणा थियो ।

केहि व्यक्तिले भारत राजा र महाराजाहरुको देश हो भनेर बुझ्ने गर्थे भन्ने केहि व्यक्तिहरुले भारत तन्त्र, मन्त्र, योगी, फकिर , अन्धविश्वाश र पछौटेपनबाट पिल्सिएको समाज हो भन्ने बुझ्ने गर्थे । केहि खास व्यक्तिहरुले मात्र भारतको क्षमता र योग्यताको बारेमा बुझ्ने गर्थे । अमेरिकी मानसपटलमा भारत प्रति सहानुभूति र सद्भाव जगाउन विवेकानन्द जस्ता धेरै ऋषि र महर्षि ले जागृत गराए । भारतीय स्वतन्त्र संग्रामको लडाइँमा अमेरिकी स्वतन्त्रता संग्रामको दार्शनिक प्रभाव प्रचुर मात्रामा पाइन्छ । अमेरिकाको विख्यात कोलम्बिया विश्वविद्यालयबाट शिक्षित र दीक्षित डा. अम्बेडकरले नै भारतको संविधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरे । अर्थात् स्वतन्त्र न्यायपालिका, संघीय शासन प्रणाली, लिखित संविधान, खुला प्रेस जस्ता अवधारणाहरु अमेरिकी संवैधानिक प्रणालीमा बाट नै भारतीय संविधान प्रभावित थिए ।

भारतीय स्वतन्त्रता संग्रामका युवा पंक्तिका नेताहरु मध्ये मुर्धन्य नेता जयप्रकाश नारायण पनि अमेरिकी शिक्षा पद्धति बाट विभूषित थिए । अर्को शब्दमा भन्ने हो भने विचारको दृष्टिकोणले अमेरिकी राजनीतिले भारतीय राजनीतिलाई उषा काल देखि नै प्रभावित गरेको देखिन्छ भने भारतीय राजनीतिले पनि अमेरिकी राजनीतिलाई प्रभावित गरेको देखिन्छ । सन् १९५९ मा मार्टिन लुथर ले भारतको यात्रा गरेका थिए । लुथर गान्धीको मानसपुत्र नै थिए । अर्थात् अहिंसा र सत्याग्रह को अवधारणा र सिद्धान्त लाइ अमेरिकी संघर्षमा अक्षरस पालना गर्ने लुथर विराट व्यक्तित्व नै थिए । पश्चिमी जगतमा गान्धीवाद प्रति अभिरुची बढाउने काम लुथरले नै गरेका हुन् । भारत र अमेरिकाको सम्बन्धलाई जन–जन संग जोड्ने काम मार्टिन लुथर किङ्ग ले नै गरेका हुन् । वर्तमान अवस्थामा भारत र अमेरिकाको सम्बन्धले एउटा नयाँ उचाई लिएको देखिन्छ । नोभेम्बरमा हुन लागेको चुनावमा अमेरिकी नेताहरु भारतको बारेमा व्यापक चर्चा गरिरहेको परिदृश्यले विश्वका चर्चित छापाखानाहरुले यथेष्ट ठाउँ दिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया देखि नर्थ केरिलिना सम्म आफ्नो भाषणमा भारतसँगको सम्बन्ध लाई उच्च महत्व दिएको छ भने आफ्नो भारतीय प्रधानमन्त्री मोदी सँग प्रगाढ सम्बन्ध को पनि चर्चा गरेका छन् । अमेरिका र भारत सम्बन्धको बारेमा चुनावी भिडियो पनि चुनावी अस्त्र को रुपमा प्रयोग भएका छन् । १० मिलियन जनताहरु भिडियो प्रशारण बाट सुचित भएका छन् । यसरी अमेरिकी चुनावमा भारत र भारतीय नेताहरुको बारेमा चर्चा हुनु भने इतिहास यो पहिलो परिघटना हो । यसका विभिन्न आयामहरू छन् । अमेरिका र भारतको सम्बन्धले एउटा नयाँ उचाई लिनुको धेरै कारक तत्वहरु छन् । भारत र अमेरिकाको व्यापार १६० बिलियन अमेरिकी डलर छन् । अर्थात् अमेरिका भारतको सबभन्दा ठुलो व्यापारिक साझेदार हो ।

अमेरिकाको २००० ठुला व्यापारिक कम्पनीहरु मध्ये ५०० कम्पनीहरुले भारतमा निवेश गरेका छन् भने भारतका २०० कम्पनीहरुले पनि अमेरिकामा निवेश गरेका छन् । भारतीय लगानी २२ बिलियन अमेरिकी डलरको रहेको छ भने भारतीय लगानीकर्ता हरुले गर्दा अमेरिकामा १ लाख २५ हजार व्यक्तिहरुले रोजगार पाएका छन् । भारतले आफ्नो ८० % कच्चा तेल अमेरिकाबाट मात्र आयात गर्दछन् । अर्को शब्दमा भन्ने हो भने भारत अमेरिकाको चौथो इन्धन आयात गर्ने मुलुकमा पर्दछ । सन् २०१६ सम्ममा नै भारतले २१ बिलियन अमेरिकी डलरको हतियार अमेरिका बाट खरिद गरेका थिए ।

अमेरिकाका ठुला कम्पनीहरु लेम्बुया, कन्कासा हरु भारतीय कम्पनी हरुको सम्झौता नै भएको छ । अमेरिका र भारतको मित्रताको प्रमुख आधार भारतीय मुलका अमेरिकी बासिन्दा हरु नै हुन जसको प्रभाव र पकड अमेरिकी जन–जीवनको अधिकाँश पक्षमा देख्न सकिन्छ । भारतीय मुलका अमेरिकीको जनसंख्या अमेरिकामा ४० लाख रहेको देखिन्छ । भारतबाट विद्यार्थीको रुपमा मात्रै अमेरिकाको उच्च शैक्षिक संस्थान हरुमा अध्येताहरुको संख्या २ लाख भन्दा अधिक रहेको देखिन्छ । अमेरिकाको ५०० उच्च व्यापारिक प्रतिष्ठान हरुको सी. ई. ओ. का रुपमा पनि भारतीय हरुको संख्या सबभन्दा अधिक नै छन् ।

अर्को शब्दमा भन्ने हो भने अमेरिकी जन–जीवन लाइ भारतीय उच्च जनशक्तिहरुले प्रभावित गरेको छ । यसको साथ–साथै सामरिक रुपमा भारत र अमेरिका विश्वको महत्वपूर्ण मुद्दाहरुमा साझा दृष्टिकोण राखेका छन् । इन्डो–प्यासिफिक क्षेत्रमा साझा साझेदारी , दुई प्लस दुई डाइलग को मध्यम बाट द्विपक्षीय समस्याहरुलाई समाधान गर्न साझा तत्परता , क्वार्ड (अमेरिका , जापान , अस्ट्रेलिया र भारत) मा सँगै सहयात्रा जस्ता परिघटना हरुले अमेरिका र भारतको सम्बन्ध लाई बिम्वित गर्दछ । त्यस्तै जापान, अमेरिका र भारत ले (ज.अ.ई.) को अवधारणा अनुसार साझा कार्यक्रमहरु समेत अगाडी बढाईरहेको छ ।

भारत वर्तमान अवस्थामा सन् २०२५ मा ५ ट्रीलियन अमेरिकी डलरको अर्थतन्त्र बन्ने लक्ष्यलाई हासिल गर्न प्रचुर मात्रामा निवेशको आवश्यकता देखिन्छ । आउने दिनमा विश्वको सबभन्दा अधिक जनसंख्या भएको राष्ट्र हुनु , सबभन्दा बढी जनसान्ख्यीक लाभांश (डेमोग्राफिक डिभीडेन्ड) हुनु, सस्तो जनशक्ति हुनु, अधिक अंग्रेजी भाषाको प्रयोगकर्ता हुनु , औद्योगीक पर्कहरु निर्माण हुनु , मजदूर कानुन र कर प्रणालीमा आमुल्य परिवर्तन हुनु जस्ता आधार हरुले गर्दा अमेरिकी लगानी लाई भारतले आकर्षण गर्न सक्दछ भने जानकारहरुको दाबी रहेको देखिन्छ । भारत र अमेरिकाको मिलन बिन्दु नै प्रजातान्त्रिक बाटो हो । प्रजातन्त्रमा अर्थतन्त्र जहिले पनि लोक कल्याणकारीमा लक्षित हुन्छ । कोरोनाको कहर बाट छटपटाई रहेको अति गरिब वर्गको लागी भारतले २.५५ बिलियन अमेरिकी डलर को प्याकेज खर्च गरेर जनता प्रतिको जिम्मेवारी लाई सार्वजनिक गरेका छन् ।

अमेरिका र खाडी देश हरुको बीच द्वन्द शिथिलीकरण र व्यवस्थापन गर्न भारतको भूमिका बढिरहेको कुरा जानकारहरुले विश्लेषण गर्दछन् । खाडी र पश्चिम एसियामा भारत सन्तुलित विदेश नीति लिएर अगाडी बढिरहेको छ । एकातर्फ भारतले आफ्नो भूमिका इजरायली राष्ट्रपति नितिनयाहूलाई अभिनन्दन गर्दछ भने अर्कोतर्फ प्यालेस्टाइनी उच्च नागरिक सम्मानबाट पनि भारतीय प्रधानमन्त्री अलङ्कृत हुन्छन । अर्थात् खाडी मुलुकहरुसँग भारतको सघन सम्बन्ध अफगानीस्तानको पुनर्निर्माण भारतको लगानी जस्ता कारणहरुले गर्दा भारत र अमेरिकाको सम्बन्ध नयाँ ढंगबाट परिमार्जित भई रहेको देखिन्छ । अटल बिहारी बाजपायीले भारत र अमेरिकाको सम्बन्धलाइ “नेचुरल एलाई” भनेका थिए भने मोदीले यस सम्बन्ध लाइ “डीफाईनिङ् पार्टनर” भनेका छन् ।

भारत र अमेरिका सम्बन्धको चुनौती हरु पनि त्यतिकै छ । आतंकवाद, इस्लामिक कट्टरपन्थी, चीनको बढ्दो दब–दबा , पाकिस्तानको ठुल–मुले नीति जस्ता अनेकौं मुद्दाहरु को समायोजन र व्यवस्थापन दुईटै मुलुकहरुको साझा चुनौतीहरु हुन् । यसको लागि दुईटै मुलुकहरुले प्रजातान्त्रिक मूल्य मान्यता हरुलाई अगाडी बढाउन आफ्नो तात्कालिक स्वार्थ भन्दा माथि उठी अगाडी बढ्नु पर्दछ । यो नै वर्तमान समयको आवश्यकता हो ।



प्रतिक्रिया दिनुहोस्