नाम : डा. गोविन्दराज भट्टराई
जन्ममिति : विक्रम सम्वत् २०१०
हालको ठेगाना : कीर्तिपुर, ट्याङ्लाफाँट
पिता/माताः पं. टेकनाथ–मन्दोदरा (दुवै स्वर्गीय)
अध्ययन : एमए, एम एड (अंग्रेजी) र विद्यावारिधि
प्रथम प्रकाशित रचना ः मुगलान उपन्यास (वि.सं. २०३२)
प्रकाशित कृति : ४२
प्रकाशनोन्मुख कृति : १६
यहाँको लेखन कार्य विशेषतः साहित्य कहिलेबाट सुरु भयो ?
मेरो साहित्य लेखन वि.सं. २०३१ बाट आरम्भ भयो । म २१ वर्षको थिएँ कीर्तिपुरमा बीएड पूरा हुनै लागेको थियो । त्यसबेला मैले लेखेको कृति हो मुगलान (उपन्यास) । यो वि.सं. २०३१ मा प्रकाशन भयो ।
साहित्य सिर्जनामा यहाँ कसबाट र कसरी प्रभावित हुनुभयो ?
अनेक पूर्वज हुनुहुन्छ— धरणीधर शर्मा, महाकवि, लेखनाथ, माधव घिमिरे । सुरुमा ता पाठ्यक्रमको बालसाहित्यले तान्यो । मेरा पिताजीमा पनि साहित्यप्रेम गहिरो थियो । पछि एक राम्रो पुस्तकालय भेटियो, आदर्श विद्यामन्दिर घैलाडुब्बामा । मैले त्यहाँ कक्षा १० कक्षा पढुञ्जेल तीन सयजति पुस्तक पढेँ होला । मलाई त्यसै संगतले भिन्न संसारको बाटो देखायो । हाम्रा गुरु दाताराम यसका अभियन्ता हुनुहुन्थ्यो ।
यतिबेलाको आफ्नो लेखन गतिविधि कस्तो छ ? वर्तमान लेखनप्रति यहाँ सन्तुष्ट हुनुहुन्छ ?
निरन्तर छ । एउटा लेखक सन्तुष्ट भयो भने उसको काल आएछ भन्ठान्नोस् । अन्तिमसम्मै आफ्नो लेखनप्रति म सन्तुष्ट हुन्नँ होला ।
अन्य नयाँ कृतिको तयारीमा पनि हुनुहुन्छ कि ?
मेरा तीन कृति अघिपछि सँगसँगै जाँदै छन् । ती हुन्— आत्मजीवनी, बेलायत यात्रा र कवितासंग्रह तर तयारीको प्रक्रिया लामो छ ।
साहित्य र स्रष्टाप्रति राष्ट्रको कस्तो जिम्मेवारी रहन्छ जस्तो लाग्छ ?
राष्ट्रको जिम्मेदारी धेरै हुन्छ । उनको कृति छापिदिने, वितरण गरिदिने, सम्मान पुरस्कार दिलाउने र मासिक भत्ताको व्यवस्था गर्ने । भारतीय साहित्यकारले पाएको चाराना सुविधा हाम्रोमा छैन । खासगरी जति आयस्ता हो, देशकै ऋण–धन जति हो ९० प्रतिशत सत्तामा बस्नेले सिध्याउँछन्, ठेगदार, गुण्डा, डनसित भाग लगाउँछन् र कला साहित्यको लागि उछिट्टिएको कनिकामात्र हो । त्यो पनि पार्टी राजनीति गर्नेले तान्छन् । स्वतन्त्र लेखक पानी पिएर बाँचेका छन् ।
तपाईंको साहित्यिक आदर्श के हो ?
मेरो कुनै आदर्श छैन । नेपाली साहित्य पढ्नु, विश्व साहित्य पढ्नु र साहित्य सिर्जना गर्नु । नेपाली भाषाको अपार शक्ति र सौन्दर्यको पूजा गर्दै तिनबाट केही माला उन्नु । अनुवादले अरुलाई नेपाली साहित्यको महत्ता चिनाउनु, नेपाली जातिलाई विश्वकला साहित्यको दर्शन बदलियो भन्ने कुरा स्पष्ट पार्नु । अर्थाेक गर्ने समय छैन, फुर्सद अनि रहर पनि छैन । अहिले आफूलाई सम्हाल्दै नयाँ चेतना विस्तार गर्नुपर्ने समय छ— मेरा लागि
तपाईं आफ्ना कृतिबाट सन्तुष्ट हुनुहुन्छ ?
अघि भनिसकेँ, कलाको अन्तिम उचाइ कहीँ छैन । सगरमाथाजस्तो स्थिर कुरा होइन– जहाँ चढेपछि लक्ष्य पूरा होस् । म सदा असन्तुष्ट र अतृप्त छु । केही राम्रो सिर्जना गर्न सक्छु कि भन्ने चिन्ता छ ।
साहित्य लेखनमा हिजो र आजको तुलना कसरी गर्नुहुन्छ ?
आज लेख्ने धेरै भए । बढ्दो शिक्षित प्रतिशत, सामाजिक सञ्जाल र खुला समाजले छोपिएका अनि लुकेका वर्गलाई पनि साहित्यतिर तान्दैछ । हिजो गर्छु भन्नेलाई कठिन थियो । एक त मकैको खेतीदेखि हिजोसम्म लेखन स्वतन्त्रता खोज्नेको काल आउँथ्यो । त्यसपछि स्रष्टा स्वतन्त्र थिएन । लागेको लेख्न नसक्ने स्थितिमा बरु वातावरण पनि थिएन ।
तपाईंको विचारमा कस्तो साहित्य लेखिनुपर्छ ?
साहित्य सर्वप्रथम सौन्दर्य–वाग हो । त्यसैले सर्वप्रथम यो कलात्मक हुनुपर्छ । शब्दले तानोस्, वाक्यले तानोस, विचारले तानोस्, कुनै दर्शनले पनि तानोस् । कुनै नवीनतम दृष्टिकोणले तानोस् । राजनीतिको दहमा हिलो पानी खेल्नेजस्तो कुरा होइन साहित्य । यो सङ्लो, निर्मल र पारदर्शी हुनुपर्छ । लेखक निर्भीक र सत्यपथ चिन्ने हुनुपर्छ ।
लेखनप्रति केले प्रेरणा दिन्छ जस्तो लाग्छ ?
एउटा शब्द छ अन्तर्प्रेरणा— त्यो आफैँभित्र हुन्छ । हुनु छ भने त्यहाँ एउटा बत्ती बल्छ । कुनैबेला कुनै परिस्थिति र परिवेशले झिल्का पर्दा त्यसले छुन्छ । त्यसलाई व्यक्त गर्न मन हुन्छ, थालेपछि आपैmँ बाटो पत्ता लाग्दै गर्छ । तर राम्रा पुस्तक नपढी, ठूला स्रष्टा आदर्श नमानी भित्रको बिर्काे खुल्दैन ।
तपाईंको लेख्ने निश्चित समय छ कि ?
त्यस्तो कुनै समय छैन तर समय खालि भयो भने एकपल पनि अरु काममा खर्चिन्नँ, लेख्छु वा पढ्छु । लेख्ने उत्तम समयचाहिँ सन्ध्या, रात्रि र बिहान हो । त्यसबेला ध्यान केन्द्रित हुन्छ, मन एकाग्र हुन्छ । भाषा र विचार पनि राति नै फुल्छ पारिजात जस्तो । धेरै विचार फालहानेर आउँछन् जुन दिनभरि लुकेका हुन्छन् उल्लूजस्तै ।
लेख्न कस्तो वातावरण चाहिन्छ ?
शान्त र एकान्त, उज्यालो र सफा । नजिकै पानी उमाल्ने केटल र इलामको ग्रीन टी धूलो । त्यहाँ तीन–चार कप पनि हउन् । कहिलेकाहीँ दिग्दार लाग्दा, भोक लाग्दा, आलस्यले छुँदा कोही साथी भाइ आउँदा त्यता मन जान्छ । उत्तम कोटीका बिस्कुट पाकेट पनि हउन् ।
लेख्नु माने अत्यन्तै राम्रा डायरीमा राम्रो कलमले स्पर्श गर्नु हो । छेउमा शब्दकोशहरु र कुनै कुरा अड्किँदा फुकाउने गुगलमा पस्नुपर्छ । एउटा राम्रो ल्यापटप र त्यसले तिर्खाउँदा पिउने वाइफाइ कनेक्टेड होस् । पुस्तक सन्दर्भ सामग्री हातले भेट्ने हउन; एक सिद्धहस्त टंकणशिल्पी सधैँ भरि ।
लेख्ने विषयवस्तु कसरी छान्नुहुन्छ ?
आफैँ आउँछ खनिएर । बारीका कान्लामा कसरी हरियो घाँस आइरहन्छ– लेखन त्यस्तै हो । अभ्यस्त भएपछि नसा लाग्न थाल्छ र लेख्न नपाउँदा रिँगटा छुट्छ । भीरबाट फालहान्ने झर्ना ठान्नोस्, आउने मूल त्यस्तै हो । कलमले सबै उघाउन भ्याउँदैन, थाम्न सक्तैन । आधि यसै पोखिन्छ; अरु लेखिन्छ ।
सफल स्रष्टाका आवश्यक गुण के-के हुन् ?
अरुको पनि पढ्नु पर्छ । नत्र अहंकारको जंगलमा पसेर लेखकहरु आत्मरतिमा डुब्छन् । राम्रो लेखँे होला भन्ने भ्रान्तिमा फुर्किरहेका हुन्छन् । तर आफ्नो ऐना अरुका अनुहारमा हेर्न पनि जान्नुपर्दछ । सफल स्रष्टा पुरस्कारका धराप खोज्दै कुद्ने छैन । केवल पढ्छ र लेख्छ । सिर्जना लेखन आजका लागि मात्र हैन– जीवनकालको कुरा होइन, जीवनोत्तर, देशकालमा पनि त्यो पुग्नेछ भन्ने कामना मात्रै राख्नुपर्छ । जीव कालमा सोझासाझाको, झण्डा नभिर्नेको मूल्याङ्कन हुँदैन । तर एकदिन आउँछ; गरिरहनुपर्छ । राम्रो लेख्ने प्रयत्न गर्नुपर्छ । सबै त जीवनकै प्रतिलिपि हो ।
सृजनामा सजीवता र काल्पनिकतामध्ये कुन बढी हुनुपर्ला ?
कल्पना एउटा हतियार हो, सुवास वा अत्तर हो र साहित्यको सिर्जनाभूमि पनि तर सजीवता अनि कल्पना परिपूरक होइनन् दुवै नमिली उत्तम साहित्य जन्मिँदैन ।
लेख्नुपर्ने बाध्यता कतिबेला महशुस हुन्छ ?
प्रतिपल मन उम्लिरहेको हुन्छ । यो अमूल्य जीवनको एकै घण्टा पनि व्यर्थमा बितेको पीडा र पश्चात्ताप कलाकारले मात्र बुुझ्छन् । अरुले एक सामान्य मानिसजस्तो देख्छन् व्यवहार गर्छन् तर समर्पित स्रष्टा अर्कै असांसारिक तत्व हो । ऊ प्रत्येक पल मेरो लेख्ने समय चिप्लियो भन्ने चिन्तामा हुन्छ । यो मन लागेको बेला गर्ने सामयिक रहरजस्तो होइन किनभने मनमा एक ज्वालामुखी उम्लिरहेको हुन्छ ।
साहित्यकार नहुनुभएको भए के हुने सम्भावना थियो ?
कसले भन्न सक्छ ? हजार सम्भावना हुन्छन् । कुनै एक मार्ग लिँदा जे पनि हुन सक्थ्यो । त्यो कुरा लेखान्तले भन्ला । के यस्तो विकल्प सचेततापूर्वक रोज्न पाइने कुरा हो र ?
नयाँ लेखकलाई यहाँको सुझाव के होला ?
नयाँ लेखकको कर्तव्य हो पढ्नु, स्तरीय साहित्य फेरि पढ्नु र अनि पनि पढ्नु । एफएमतिर पसेर गजल गाएर आएको प्रशंसा व्यर्थको हो, पानीको फोकाझैँ साहित्यको होइन त्यो । एक असल कविता रच्ने प्रयत्न गर्नाेस्, एक राम्रो उपन्यास लेख्ने प्रयत्न गर्नाेस् । साहित्यका मापदण्ड यिनै हुन् । हजार गजल हाइकु ताङ्का, लघुकथा लेखेर सर्वत्र फिँजाए पनि दूरदर्शी स्रष्टा त्यस्ता कर्ममा अमूल्य समय लगाउँदैनन् । साहित्यलाई त्यस्तै हाँसो ठट्टा क्षणिक ताली र रोमान्स मात्रै ठान्ने भए जे गरे पनि हुन्छ । तीन वर्ष खर्चेर एउटा उपन्यास लेखी हेर्नुहोस् र उत्तम उपन्यास पढेर हेर्नुहोस् । पसिनाको मूल्य चिनेपछि मात्र सफल स्रष्टा हुइन्छ ।
हृदयमा आफ्नो भाषाप्रतिको गहिरो प्रेम, निष्ठा र सम्मान चाहिन्छ । भाषाले कसरी जादू गर्ने, सर्वप्रथम कसरी शुद्ध लेख्ने त्यसको चिन्ता नभएको व्यक्ति साहित्यकार बने पनि देशलाई लाभ छैन । साहित्यिक भाषाबारेको सचेतता बढाउन म दुईवटा पुस्तक पढ्न शिफारिस गर्छु— कृष्णप्रसाद पराजुलीको राम्रो रचना र मीठो नेपाली अनि शरच्चन्द्र वस्तीको हाम्रो भाषा अथवा नेपाली शुद्ध कसरी लेख्नु ? यतिबेला नेपाली भाषा वा शब्दको मौलिक सौन्दर्य भत्काएर लथालिङ्ग बनाइएको बेला छ । भाषालाई नै शक्तिहीन र निस्तज बनाउने प्रयत्न छ । असल पाठक÷स्रष्टा त्यसको पछि नलागी भाषा जोगाउने प्रयत्नमा लाग्नुपर्छ ।
तपाईं आफ्नो साहित्यिक योगदानको महत्व केमा देख्नुहुन्छ ?
एक व्यक्तिले त्यस्तो ठूलो प्रभाव पार्न सक्तैन । फेरि साहित्य भनेको राजनीति गर्नेले जस्तो असत्यको सहाराले उक्लिने मार्ग पनि होइन । साहित्य त देश–विदेशका परिस्थितिको अन्तत्र्रिmयाबाट उत्पन्न हुने कला–चेतनामात्र हो । त्यो बुझ्ने र ग्रहण गर्ने वर्ग पनि सीमित छ ।
धेरै उमेर ता जीवनमा भौतिक माग पूरा गर्दै गए तर विद्यावारिधि गर्न हैदरावाद गएपछि मेरो चेतनाको क्षितिज भिन्न हुँदै गयो र मैले साँच्चै कस्सिनु प¥यो । विगत २५ वर्षमा मैले विचार र सिर्जना दुवै कुरासित खेल्नु प¥यो । सिर्जनामात्रै भए म धेरै पर पुगिसक्थँे तर विचारको सामयिकता र चिन्तनको औचित्य नबुझी कागज अनि मसीको नास गर्नु व्यर्थ कर्म हो । मैले व्यापक विश्व बुझ्ने प्रयत्न गरेर उत्तरआधुनिक चिन्तनको अध्ययन मनन गरेँ, नेपालमा त्यसको जग बसालेँ र धेरै प्रतिरोधी मित्रलाई पनि त्यो पढ्न प्रेरित पारेँ । कतिले साम्यवाद समाप्त होला कि भनेर पढे र विरोध लेखिटोपले तर सकिएको साम्यवादलाई राजनीतिक लाठाले छेकेर थाम्न नसकिने दिन आएकाले म निश्चिन्त रहेँ । अबको संसारमा निर्बाध स्वतन्त्रता छैन भने बाँकी केही रहँदैन । यो जीवनै व्यर्थ हुन्छ । विचार, चिन्ता, कला र सिर्जना सबैको अन्त्य हुन्छ ।
मैले उत्तरआधुनिक विमर्शमा डायास्पोरा साहित्य, इको–लेखन, साइबर, विश्वका नवलेखन विनिर्माण, जातीय लेखन, नारीवादजस्ता सात नयाँ विषयको परिचय गराएँ । नेपाली समालोचनाको वर्तमान गति तिनकै वरिपरि छ भन्दा हुन्छ ।
अर्काे कुरा मेरो अध्ययन र चिन्तनको मूल विषय ता अनुवाद हो । त्यस विषयमा विद्यावारिधि गर्ने म पहिलो नेपाली विद्यार्थी हुँ । त्यसलाई २० वर्ष लगाएर संस्थागत गदैछौँ हामी । विश्वविद्यालयको पाठ्यक्रममा हालै अनुवाद विधा पनि समावेश भएको छ । त्यसमा विद्यावारिधि गर्ने नेपाली निस्के । प्रज्ञा प्रतिष्ठानमा अनुवाद विभाग स्थापना भयो र अनुवाद समाज पनि दर्ता भएको छ– यी ऐतिहासिक कुरा हुन् । सबैभन्दा ठूलो कुरा त नेपालमा पहिलोपल्ट प्रज्ञा प्रतिष्ठानले नेपाली अनुवादक परिचय कोश (वि.सं. २०७५) प्रकाशन ग¥यो । यसमा संसारभरिका नेपाली साहित्यका छ सय २० जना अनुवादक र तिनका अनूदित कृतिको परिचय समावेश छ ।
तपाईं सिर्जना, समालोचना अनुवाद विविध क्षेत्रमा छरिनुभएको छ प्राथमिकताचाहिँ के होला ?
प्रश्न गर्नुपर्दैन त्यो हो सिर्जना । तर सिर्जनाले मात्र एउटा वाङ्मय निर्माण हुँदैन । समीक्षा, समालोचना, अनुवादजस्ता अनेक प्रकारका उपोत्पादन पनि साहित्य नै हुन् । फेरि साहित्य सिर्जनाको लागि सिर्जना भूमिलाई पनि उर्वरा पार्दै लानुपर्दछ । त्यो काम एक स्रष्टाले नगरे कसले गरिदिन्छ ? त्यसकारण अरुका पनि बाटा बनिउन् भनेर मैले त्यता पनि समय लगाएँ । त्यो फलले अरुलाई सघाउँछ । सबै उपकर्मको मुटु त साहित्य सिर्जना नै हो ।
तपाईं साहित्य कसका लागि हो भन्नुहुन्छ ?
साहित्य सर्वप्रथम आफ्नै लागि हो । कोही मित्र जनताका लागि भन्ने विश्वास राख्छन् । तर त्यो मलाई असत्य लाग्छ । प्रजातन्त्रमा भिन्न मत राख्न पाइने भएकाले मात्र यस्तो कुरा बोल्दैछु । आफ्नो हृदयले सर्वप्रथम स्वीकार्नुप¥यो, यो लेख्य विषय हो र मैले यस विषयलाई प्रकाशनमा ल्याउनुपर्छ, यसमा कला भर्नुपर्दछ, आफूवरिपरिको समाज यो छ, अथवा त्यसको रेप्लिका यस्तो छ, मेरो कल्पनाले यस्तो पात्र र परिस्थिति लेखौँ भन्छ– त्यसरी हृदयलाई उच्चासनमा राखेर लेख्छु । आफ्नै सन्तुष्ट हुने प्रयत्नमा लेख्छु ।
साहित्य जनताको लागि भन्ने नारा धेरै बिक्छ र एउटा राजनीतिले आदेश गर्छ, त्यसलाई पुरस्कृत गर्छ । त्यस्तो प्रकारको साहित्य भनेको शुष्क र हृदयहीन हुन्छ । त्यो तयार पारेको सिद्धान्त खाकामा फाराम भर्नेमात्र हो । साहित्य ता कल्पना र चिन्तनले बन्छ । त्यस्तो निर्देशित लेखनमा अन्तर्हृदय खुल्दैन । सिर्जना भनेको नित्य हृदयको आवाज हो, त्यो अनिर्देशित र स्वस्फूर्त हुन्छ । राजनीतिको घोडा चढ्नेहरुले साहित्यलाई पनि घोडै ठान्छन् र चढिहेर्छन्् तर त्यो क्षणिक हुन्छ र नाशवान् हुन्छ । पञ्चायतकालभरि लेखिएका स्तुति प्रशंसाका ठेली थिए ती कहाँ पुगे ? वाल्मीकि, व्यास, कालीदास, होमर, दाँतेदेखि महान् शक्तिहरुको सम्झना गर्दछौँ रातोदिन शेक्सपियर, वर्डस्वर्थ, रुमी, ओमर खैयाम, ट्यागोर, टाल्सटाय, महाकवि १० जना संसारका सर्वश्रेष्ठ साहित्यकारको नाम रोजौँ– तिनीहरुले जनताको लागि लेखे कि आफ्नै अन्तर्हृदयको आवाजलाई सुनेर कलाको तपस्यामा जोडे ?
साहित्यकारहरु ठूला÷ठूला अधिनायकलाई पनि टेर्दैनन् । त्यसैले स्रष्टालाई यस्तो लेख भनेर अह्राउन फकाउन भनेको कुनै कारखानाबाट एकैखाले साँचामा वस्तु उत्पादन गर्ने लक्ष्य राख्नुजस्तै हो । एक ता हाम्रा लेखक धर्म, जाति र संस्कृतिको गहिरो गर्तमा छन् बाहिरी विश्व अनि मानवताको उचाइ देख्न नसक्ने ठाउँमा छन् या भनौ लेख्न नसक्ने गर्तमा छन् । त्यसैले धेरैजसो उनीहरु पनि कारखानाबाट झैँ संकीर्णतालाई पुनरुत्पादन गर्छन् । त्यसमाथि राजनीतिको कारखानामा पसाइयो भने लेख्न के बाँकी रहन्छ ? दुःख लाग्छ– अहिलेको नेपालले त्यसो गर्दैछ । यहाँ वैचारिक स्वतन्त्रता आउन दिएका छैनन् । Photo Source: Social Media/Facebook
प्रस्तुति : जयराम सापकोटा