Logo

तेजाबसम्बन्धी अध्यादेशबाट अभियन्ता र पीडित खुशी, के छ व्यवस्था ?



काठमाडौँ, १५ असोज । सरकारले अध्यादेशमार्फत ल्याएको नयाँ कानुनको तेजाब आक्रमणमा परेका व्यक्ति तथा अभियन्ताहरूले स्वागत गर्नुभएको छ । केही वर्षअघि तेजाब आक्रमणमा पर्नुभएकी सङ्गीता पुलामी मगरले यो नयाँ कानुनले देशका धेरै युवालाई खुसी तुल्याएको बताउनुभएको छ । ‘कानुन नै बनेर यो अपराध अन्त्य नै हुन्छ भन्न सकिन्न तर यसले आपराधीको मनोबललाई कमजोर बनाउनेछ,’ मगरले भन्नुभयो, ‘जसले गर्दा तेजाब आक्रमणको अपराध कम भने हुने आशा गरेकी छु ।’

तेजाब आक्रमण हुँदै हुँदैन भन्न नसकिए पनि कानुन नहुनुभन्दा कानुन आएपछि कम्तीमा अपराधीलाई कारबाही हुने कुरा भने सुनिश्चित हुने उहाँको भनाइ छ । त्यस्तै लामो समयदेखि तेजाब आक्रमणमा परेका व्यक्तिहरूको जीवन र अधिकारका लागि काम गर्दैआउनुभएका अभियन्ता उज्ज्वल विक्रम थापाले नयाँ कानुन बनेकोमा खुसी व्यक्त गर्दै आफूले एउटा प्रण पूरा गरेको प्रतिक्रिया दिनुभएको छ । अहिले कानुन बने पनि तेजाब आक्रमणजस्तो अपराधलाई अन्त्य गर्ने विषयमा अझै लामो यात्रा बाँकी रहेको उहाँले सामाजिक सञ्जालमार्फत बताउनुभएको छ ।

तेजाब आक्रमणमा परेका चेलीहरूको पीडा र प्रण देखेर आफू तेजाबविरुद्धको अभियानमा लागेको बताउँदै उहाँले नयाँ कानुन पारितको श्रेय ती बहादुर नारीहरूलाई दिने एक ट्वीट गर्दै बताउनुभएको छ । साथै उहाँले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र महान्यायाधीवक्ता अग्निप्रसाद खरेललाई पनि धन्यवाद दिनुभएको छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ जारी गर्नुभयो ।

यी अध्यादेशहरू तेजाबजन्य अपराधविरुद्ध नेपाल सरकारको महत्वपूर्ण कानूनी तथा नीतिगत कदम साबित भएको छ । यी अध्यादेशहरूले नेपालमा तेजाब आक्रमणबाट पीडित व्यक्तिहरूले उठाउँदै आएको कडा कानूनको मागलाई समेत सम्बोधन गरेको छ ।

अध्यादेशले मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गरी तेजाब प्रयोग गरी गरिने अपराध गर्नेलाई सजायले व्यवस्था गरेको छ । जसअनुसार कसैले कसैलाई तेजाब फ्याँकी, छर्किई, खन्याई वा प्रयोग वा सेवन गराई कसैको दुवै आँखा जली पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कानको सुन्ने शक्ति पूर्ण रुपमा नष्ट भएमा, नाकमा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्ण रुपमा कुरुप भएमा, महिलाका दुवै स्तन जलेमा वा कसैको यौनांग नासिएमा त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई बीस वर्ष कैद र दश लाख रुपियाँ जरिबाना हुने व्यवस्था गरेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्