जनकपुरधाम, असोज १५ । जनकपुरधाममा चाड पर्वलक्षित बजार अनुगमन सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरसहित सरोकारवाला निकायले आधा दर्जन पानी उद्योगमा छडके अनुगमन गरेका छन् ।
अनुगमनमा अधिकांश पानी उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको हो ।
जनकपुरधाम उपमहानगर–१९ स्थित जयप्रकाश साहले सञ्चालन गरेको लक्ष्मी ड्रिकिङ पानी उद्योगमा सबैभन्दा बढी कमजोरी पाइएको खाद्य निरीक्षक प्रविन तिवारीले बताए ।
उनका अनुसार उद्योगमा लेबल विवरण अपूर्ण रहेको, सरसफाइ पूर्वाधार नरहेको, भण्डारण कक्षको व्यवस्थापन नभएको र बोतल व्यवस्थित नभएकोलगायत कमजोरी पाइएको छ । ‘उद्योग सञ्चालक साहलाई सात दिने अल्टिमेटम दिएर उद्योग सुधार्न निर्देशन दिइएको छ’, तिवारीले भने, ‘पानीको बोतलमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नरहेकाले पानी बिक्री वितरण गर्न प्रतिबन्ध लगाएका छौं ।’
अल्टिमेटमको अवधिमा उद्योगका कमजोरी सुधार गरी सञ्चालकलाई बयानका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उनले बताए । उद्योग समयसीमाभित्र नसुध्रिए कारबाही प्रक्रिया अगाडि बढाइने खाद्य निरीक्षकको तिवारीले दाबी गरे ।
जनकपुरकै गुरु ड्रिकिङ वाटरमा समेत कमजोरी देखिएको छ । विक्रम मण्डल सञ्चालक रहेको पानी उद्योगमा सरसफाइ गरी निर्देशिकाअनुसार उत्पादन एवं बिक्री वितरण गर्न कार्यालयले सुझाएको छ ।
यस्तै, जनकपुरधाम–१४ स्थित डेलिफ्रेस वाटर खाद्य निर्देशिकाविपरीत सञ्चालन रहेको पाइएको हो । उद्योगमा सरसफाइ नगरिएको र लेबल विवरण अपूर्ण रहेको देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।