बुटवल, १८ असोज । बुटवलमा स्थानीय प्रशासनले चार दिनका लागि निषेधाज्ञा जारी गरेको छ । प्रदेश ५ को राजधानी दाङलाई बनाउने सरकारको प्रस्तावमा तिव्र असन्तुष्टि बढेपछि सम्भावित विरोध र दंगालाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरेको हो । तर, निषेधाज्ञा तोड्दै सर्वसाधारण, नागरिक समाज र उद्दोगी व्यवसायी प्रदर्शनमा उत्रिएका छन् । बुटवललाई प्रदेश ५ को राजधानी कायम गर्नुपर्ने माग गर्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।
विरोधमा उत्रिएकाहरुले अर्को चुनावमा मत नदिने सम्मको नारावाजी गरेका छन् । उनीहरुले विरोध प्रदर्शन गरेर कोणसभा समेत गरेका छन् । उनीहरुले कोरोना महामारीको बेलामा अन्यत्र राजधानी तोकेर राजनीतिक छलछाम गर्न खोजेको आरोप समेत लगाए ।
प्रदेश ५ को राजधानी बुटवललाई नबनाई दाङलाई बनाउने सरकारको प्रस्तावविरुद्ध बुटवललगायत आसपासका क्षेत्रका बासिन्दा असन्तुष्ट छन् । आज प्रस्तावको विरोधमा नेपाली काँग्रेसले रुपन्देही बन्दको आव्हान समेत गरेको थियो । काँग्रेसले दाङलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोध गर्दै आएको छ ।
शुक्रबार सरकारले मन्त्रिपरिषदबाट दाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव प्रदेश ५ को प्रदेशसभामा दर्ता भएको छ । त्यसमाथि सोमबार छलफल हुने बुझिएको छ । सत्तारुढ नेकपा सांसदहरुले यसमा समर्थन जनाएका छन् । प्रदेशसभामा नेकपाको भारी बहुमत छ । प्रदेशसभामा नेकपाका ६१, काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । नेकपासँग प्रदेशसभामा दुई तिहाई सांसद संख्या भएकाले प्रदेश ५ को नाम र राजधानी राख्ने प्रस्ताव पारित हुनसक्ने देखिन्छ ।-तस्वीर स्रोतः बुटवल अनलाइन