Logo

पोखरामा पेट्रोलियम भण्डारण क्षमता विस्तार प्रक्रिया सुरू



काठमाडौं, असोज १९। नेपाल आयल निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने प्रक्रियास्वरूप गण्डकी प्रदेशको पोखरामा पाँच हजार किलोलिटर (केएल) पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन लागेको छ ।

त्यसका लागि गगनगौँडास्थित निगमको प्रादेशिक डिपोमा दुईवटा ठाडा ट्याङ्की निर्माणको प्रक्रिया अघि बढाइएको छ । टेन्डर मूल्याङ्कन गरी स्वीकृतिको अन्तिम तयारीमा रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

निगमले नयाँ ट्याङ्कीमा डिजेल भण्डारण गर्नेछ । हाल भइरहेका तीनवटा डिजेल भण्डारणका ट्याङ्कीलाई पेट्रोल भण्डारणमा परिणत गर्ने भएको छ । गण्डकी प्रदेशमा हाल दुई हजार २८० केएल डिजेल र ३५० केएल पेट्रोल भण्डारण हुने गरेको छ ।

बजारको आवश्यकता र हरेक प्रदेशमा भण्डारण क्षमता वृद्धि गर्दै जाने सरकारको नीतिअनुसार गण्डकी प्रदेशमा भण्डारण क्षमता विस्तारको काम सुरु भएको उपाध्यायको भनाइ छ । दुई वर्षमा निर्माण सम्पन्न हुनेछ । निगमको जग्गामा निर्माण हुन लागेको सो भण्डारण निर्माणमा निगमले ७७ करोड रुपियाँ (भ्याटबाहेक) लगानी गर्ने भएको छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्