Logo

देउखुरीमा जग्गा कारोबारी सल्बलाए, रोके पनि भित्रभित्रै कारोबार



देउखुरी, २५ असोज । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बनाउने प्रदेश सभाले निर्णयसंगै देउखुरी क्षेत्रमा आन्तरिक रुपमा जग्गाको कारोबार बढ्न थालेको छ ।
राजधानीको नाममा जग्गाको अस्वाभाविक कारोबार हुने ठानेपछि सरकारले जग्गाको कित्ताकाट रोक्का गरे पनि भित्रभित्रै जग्गाको कारोबार भइरहेको छ । अहिले राजधानीको केन्द्र भनिएका क्षेत्रसहतिका आसपासमा जग्गाको कारोवार रोकिएपनि कपाली कागज वनाएर बैना बुझाएर जग्गा रोक्ने काम भइरहेको स्थानीय बताउँछन । सरकारले जग्गा कारोवार गर्न रोक लगाएको अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८,९ राप्ती गाउँपालिका र गढवा गाउँपालिकाको वडा नम्बर १,२,३ जग्गा बढी केन्द्रित भएको पाइएको छ ।

सरकारले जग्गा कारोबार गर्न रोक लगाएको हुँदा जग्गा कारोबारको सरकारी रेकर्डमा नभेटिए पनि घरघर पुगेर आपसी सझदारीमा सामान्य कागजकै आधारमा जग्गा किनबेच भइरहेको हो ।
अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडा नम्बर ८ लाहापेका स्थानीय वीरवहादुर दर्लामीले राजधानी घोषणा हुनु दुइदिन पहिलेबाट अहिलेसम्म दैनिक मानिसहरु हुलका हुल जग्गा खोज्दै हिंडेको बताउनुभयो ।

साना गाडी लिएर मानिसहरु हुलका हुल आउन थालेका छन्, मैले मेरो जग्गा बिक्री गरेको छैन, छिमेकीले सामान्य कागज वनाएर महँगो पारेर बिक्री गरेका छन् उहाँले भन्नुभयो ।
सातमारा, लाहापे क्षेत्रमा प्रति रोपनी पाँच लाखसम्म बिक्री भएका जग्गा अहिले प्रति रोपनी १५ देखि २० लाखभन्दा माथि कारोबार भइरहेको स्थानीयहरू बताउँछन ।
राप्ती गाउँपालिका क्षेत्रका भित्री खेतमासम्म जग्गा कारोबारीको दौडधुप चलिरहेको छ । दाङसहित बुटवल, रोल्पा, काठमाडांै र छिमेकी जिल्लबाट जग्गा कारोबारीले बैना बुझाउँदै कागज बनाउँदै कारोवार गररहेको पाइएको छ । जग्गा बिक्री गर्ने र खरिद गर्नेले यस विषयमा बोल्न नचाहे पनि राप्ती गाउँपालिकामा प्रवेश गर्नेबित्तिकै छ्याछयाप्ती देखिने साना सवारी साधन र नयाँ मानिसको जमघटले जग्गाको कारोवार आन्तरिक रुपमा चलिरहेको पाउन सकिन्छ ।

राप्ती गाउँपालिकाले सूचना जारी गरी राजधानी देउखुरी टुङगो लागिसकेको अवस्थामा जग्गाको कारोबार रोक्का गरिएको जनाएको छ । लुकीछिपी आन्तरिक रुपमा गरिएको जग्गाको कारोबारले भविष्यमा पर्ने असरको हेक्का राख्न आग्रह सूचनामा गरिएको छ । दाङ देउखुरी क्षेत्रका प्रदेश सभासदहरुले जग्गाको आन्तरिक कारोबारलाई रोक्न स्थानीय पालिकालाई पटक पटक आग्रह गर्दै आएका छन् ।

साँसद इन्द्रजित थारुले राजधानीको लागि आवश्यक भौतिक पूर्वाधार विस्तृत गुरुयोजना वनाइने र अहिले जग्गाको अव्यवस्थित कारोवारले समस्या निम्ताउने हुँदा जग्गाको कारोवार रोक्न आग्रह गर्नुभयो । मालपोत कार्यालयको तथ्याङ्कले कारोबार खुला रहेको स्थानमा पनि कारोवार तीब्र नभएको देखाउँछ । मालपोत कार्यालय लमहीका प्रम्ख कृष्ण केसीले ठूलो संख्यामा जग्गाको कारोवार नभएको भित्र भित्र हुने कारोवार आफूहरुलाई थाहा नहुने बताउनुभयो । उहाँले भन्नुभयो,रोकिएको ठाउँको कारोवार नभएपछि मालपोतमा आउने कुरै भएन खुलेको ठाउँमा दैनिक २० देखि २५ वटा जग्गा पास हुने गरेको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्