Logo

घरेलुबाट चार हजारलाई रोजगारी



भोजपुर, २५ असोज । जिल्लामा घरेलु तथा साना उद्योग दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । उद्योग दर्ता गरेर व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएसँगै चार हजार बढीले रोजगारीसमेत पाएका छन् । सरकारको तर्फबाट कृषि क्षेत्रमा विभिन्न खाले प्रोत्साहनका कार्यक्रम सञ्चालनमा आएसँगै व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि भएको घरेलु तथा साना उद्योग विकास कार्यालय भोजपुरले जनाएको छ । जिल्लाभर हालसम्म दुई हजार १४७ वटा साना तथा घरेलु उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष मात्र ३३४ वटा उद्योग तथा फार्म दर्ता भएका छन् भने वाणिज्यतर्फ ४१७ फार्म दर्ता भएको कार्यालयको भनाइ छ ।

विभिन्न खाले उद्योगबाट दुई हजार २६९ जना पुरुष र एक हजार ८९१ महिला गरी जम्मा चार हजार १६० जनाले रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख प्रेम बुढाथोकीले जानकारी दिनुभयो । समुदायस्तरमा विभिन्न खोल तालिमसँगै कार्यक्रम सञ्चालन गरेपछि उद्योग तथा फार्म दर्ता गरेर व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्लामा उद्योग व्यवसायमा लाग्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ, व्यवसाय गरेर धेरै जना स्वरोजगारसमेत बनेका छन् ।”

कार्यालयका अनुसार दर्ता भएका फार्ममध्ये सबैभन्दा बढी कृषि तथा वनजन्य रहेको कार्यालयको भनाइ छ । गत आर्थिक वर्षमा निजी फार्म ३२६, साझेदारी फार्म छ र दुईवटा कम्पनी दर्ता भएका छन् । जसमा घरेलु उद्योग दुई, साना उद्योग ५५ र लघुउद्यम २७७ रहेका छन् । दर्ता भएका मध्ये उत्पादनमूलक छ, सेवामूलक ४३, कृषि तथा पशुजन्य २८१, निर्माणका चार रहेका छन् । सबैखाले उद्योगमा पुरुष २६६ र महिला ७२ गरी ३३८ जना उद्यमी संलग्न रहेको कार्यालयले जनाएको खबर आजको समाचापत्रले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्