Logo

कर्णालीका मुख्यमन्त्रीसँग सत्तारुढ दलकै सांसद असन्तुष्ट, दलभित्रै अविश्वासको प्रस्ताव दर्ता



सुर्खेत, २६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरुले पार्टी भित्र अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आइतवार पार्टीको प्रमुख सचेतकलाई सम्बोधन गरी सत्तारुढ दलकै १८ जना प्रदेशसभा सदस्यहरुले संयुक्तरुपमा हस्ताक्षर गरी संसदीय दलको नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाही उपर विश्वास नभएकोले अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

यामलाल कँडेलको नेतृत्वमा १८ जना प्रदेशसभा सदस्यहरुले विभिन्न कारण देखाएर अविश्वासको प्रस्ताव दर्ता गराएको जनाइएको छ । पार्टीको दलको नेतामा महेन्द्रबहादुर शाही निर्वाचित भएपछि संसदीय दल र सरकारको कामकारबाहीले जनस्तरमा फितलो भएकोले नेकपा प्रदेशसभा संसदीय दलको विधान २०७५ को नियम २४९१० बमोजिम हामी माननीय सदस्यहरुको दलको नेता उपर विश्वास नभएकोले अविश्वासको प्रस्ताव दर्ता गराएको उल्लेख छ । साथै सोही नियम २४ को ९१, २, ३, ४० बमोजिम यथासक्य बैठक आयोजना गरी मार्ग प्रशस्त गर्न पनि आग्रह गरिएको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेशसभा सदस्यहरुमा यामलाल कँडेल, चन्द्रबहादुर शाही, करबीर शाही, कुर्मराज शाही, अमरबहादुर थापा, सुशील थापा, मिनासिंह रखाल, दानसिंह परियार, पदमबहादुर रोकाया, पद्मा खड्का, कैशिलावली खत्री, पुष्पा घर्ती ९विष्ट०, राजु नेपाली, धर्मराज रेग्मी, खड्कबहादुर खत्री, ठम्मरबहादुर विष्ठ, बद्मी क्वाँरी बोहोरो र देवी ओली रहनुभएको छ ।

अविश्वास प्रस्ताव दर्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य यामलाल कँडेलले दलवीच व्यापक छलफल गरी साझा निष्कर्षका साथ संसदीय दलको नेताउपर अविश्वासको प्रस्ताव दर्ता गराएको बताउनुभयो । उहाँले सरकार गठनको अढाई बर्षको अवधिमा संसदीय दल र पार्टीको कामकारबाही निकै फितलो भएकोले दलभित्रको वैधानिक अधिकार प्रयोग गरी प्रक्रियागत रुपमा प्रस्ताव दर्ता गराएको जिकिर गर्नुभयो । उहाँका अनुसार काम कारबाहीवारे सुधार गर्न व्यापक छलफल र सुझाव दिइएपनि कुनै सुनुवाई नभएकोले प्रदेशमा पहिलो पटक अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।

यता नेकपाको संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले बहुमत सदस्यहरुले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गराएकोले पार्टीको बैठक बसेर निर्णय गरिने बताउनुभयो । उहाँले छिटै बैठक बसेर प्रक्रिया अनुसार नयाँ नेता चयन गरिने जानकारी दिनुभयो । यद्यपि बैठकले कहिले बस्छ भन्ने उहाँले बताउनुभएन ।
कर्णालीमा नेकपाका ३२ जना प्रदेशसभा सदस्य छन् । एक जना सभामुख हुनुहुन्छ । १८ जनाले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही अल्पमतमा पर्नुभएको छ । कर्णालीमा ४० सदस्य प्रदेशसभा सदस्य छन् । कांग्रेसका ६ जना र एक जना राप्रपाका हुनुहुन्छ । यो खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्