काठमाडौं, २९ असोज । फेसबुक पेजमार्फत् नायिकाहरुको अश्लील र आपत्तिजनक सन्देश पठाउने व्यक्ति पक्राऊ परेका छन् । अछामको ढकारी गाउँपालिका ५ चैनपुरका किरण बुढाले नायिकाहरुको बदनाम गर्ने क्रियाकलाप गर्दै आएका थिए ।
प्रहरीको साइबर ब्युरोका अनुसार उनले विविध असान्दर्भिक र समाजमा अपाच्य स्टाट्सहरु लेख्नुको साथै फोटो एडिट गरी ट्रोल बनाई पोष्ट गरी साइबर अपराध गरेका थिए । उनले ढकारी गाउँपालिकाको नाममा विभिन्न फेसबुक पेज बनाई उक्त गाउँपालिकाकै अपमान गरेको समेत उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ ।
बुढाले विभिन्न फेक अकाउन्ट तथा पेजहरु बनाई ख्यातिप्राप्त महिला कलाकार, व्यक्ति तथा निकायहरुका बारेमा यौनजन्य अश्लील एवं आपत्तिजनक पोष्ट गर्ने, प्रतिक्रिया लेख्ने, फोटो आकृति बिगारेर ट्रोल बनाई पोष्ट गरी समाजमा घृणा द्वेष फैलाउने कार्य गरेकोले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत् जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाइएको छ ।