Logo

प्रहरीको सञ्चार सेट बोकेर व्यवसायीलाई ठग्दै आएका खड्का पक्राउ



काठमाडौं , ३० असोज । प्रहरी हुँ भन्दै व्यवसायीबाट आर्थिक लाभ लिएको अभियोगमा एकजना पक्राउ परेका छन् । आफूलाई प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाका विभिन्न व्यवसायी लगायतका मानिसहरुलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको अभियोगमा काठमाडौं बाँनियाटार बस्ने रामेछाप घर भएका २८ वर्षीय गोबिन्द खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाई रातको समयमा रात्रीकालीन व्यवसाय संचालन गर्ने स्थानहरुमा गई खड्काले व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएका थिए ।

उनलाई विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले काठमाडौं टोखा बाँनियाटारबाट पक्राउ गरेको जनाएको छ । उनको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू, २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्