Logo

गाँजाको विषयमा विवाद हुँदा बञ्चरो प्रहार गरी साथीको हत्या



झापा,३० असोज । धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिकाका २२ वर्षीय अभिषेक चौधरीलाई धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सोही नगरपालिकाका टल्के भन्ने रविन राजवंशी बुधबार बेलुका पक्राउ परेका हुन् ।

कन्काई नगरपालिका एकान्त टोलस्थित रहेको सुरुङगा खोलाको बाँध र बाँसघारी झ्याङस्थित गोरेटो बाटोमा बुधबार बिहान अभिषेकको शव फेला परेको घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न रविनलाई त्रिवेणी विकास टोलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मृतक अभिषेकले रविनलाई १ सय रुपैयाँ दिई गाँजा लिन पठाएको विषयमा भएको विवादको कारण बञ्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्