Logo

कोभिड-१९ को उपचारमा प्रयोग गरिने रेम्डेसिभिर औषधीमाथि डब्लुएचओले उठायो प्रश्न



एजेन्सी, ३० असोज । कोरोना भाइरसविरुद्धको उपचारमा प्रयोग गरिदै आएको रेम्डेसिभिर औषधीले निकै कम असर गर्ने या असर गर्दै नगर्ने विश्व स्वास्थ्य संगठनको अध्ययनले निष्कर्ष निकालेको छ । डब्लुएचओको परीक्षणले इबोलाको उपचारमा प्रयोग हुने रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोकिन, इन्टरफेरन र एचआइभीको उपचारमा प्रयोग हुने लोपिनाभिर र रिटोनाभिर गरी चारवटा औषधीको परीक्षण गरेकोमा यस्तो निष्कर्ष निकालेको हो ।

यी औषधीहरु ३० देशका पाँच सय अस्पतालहरुमा ११ हजार २ सय ६६ कोरोना भाइरसका विरामीमाथि परीक्षण गरिएकोमा जीवन रक्षामा सहयोगी नभएको निष्कर्ष निकालेको हो । रेम्डेसिभिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपचारमा समेत प्रयोग गरिएको थियो ।

तर, रेम्डेसिभिरको उत्पादक गिलिड साइन्सले डब्लुएचओको अध्ययनको निष्कर्षलाई नमान्ने भएको छ । उसले जर्नलहरुमा यसबारे गहिरो अध्ययन भई कोरोना भाइरसविरुद्धको उपचारमा काम लाग्ने पत्ता लागिसकेको उल्लेख गरेको छ ।

नेपालमा समेत कोरोना संक्रमितको जटिल अवस्थामा उपचार गर्न रेम्डेसिभिर र हाइडोक्सिक्लोरोकिनको प्रयोग अनुमति दिइएको छ । डब्लुएचओको नयाँ निष्कर्षसँगै यसको प्रयोगमाथि समेत प्रश्न उठेको छ ।



प्रतिक्रिया दिनुहोस्