Logo

हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटर



हेटौड, कार्तिक ४ । संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण गरिरहेको काठमाडौं–निजगढ द्रूतमार्गसँग मकवानपुरको भीमफेदी गाउँपालिका–८ र इन्द्रसरोवार गाउँपालिका–३ को गेट दोभानमा जोड्ने तयारी थालिएको छ ।

यस योजनालाई सफल बनाउन सके हेटौंडा–काठमाडौंको सडक दूरी ५४ किलोमिटर मात्र हुने भन्दै प्रदेश सरकारले प्रस्ताव गरेअनुसार अध्ययन थालिएको छ ।

बाराको निजगढदेखि संघीय राजधानी काठमाडांै द्रँतमार्गसँग हेटौंडा–काठमाडौं मदन भण्डारी मार्गलाई जोड्नका लागि अध्ययन थालिएको हो ।

प्रदेशको प्रस्तावपछि नेपाल सरकारले कार्यदल नै बनाएर अध्ययन थालेको छ । सरकारका तर्फबाट एक दिनअघि मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेल र प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियाले दुई मार्गलाई जोड्न सकिने सम्भावित बिन्दुको अवलोकन गरेका थिए।

उपाध्यक्ष डा कँडेलले द्रूतमार्गको प्रारम्भमा यसमार्गसँग जोडिने अन्य कुनै मार्गको परिकल्पना नगरिएकाले नयाँ परिस्थिति सिर्जना भएको बताए ।

उनले द्रूतमार्ग अनुगमन समितिले द्रूतमार्ग निर्माणको क्रममा प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय गरेको बताए । समितिले प्रदेशसँग समन्वय गर्नुपर्ने भनेकाले नै आफूहरु अवलोकन र अध्ययनका लागि आएको उनको भनाइ थियो ।

पहिलो चरणमा व्यावहारिक र सामान्य अवलोकन गरिएको उल्लेख गर्दै उपाध्यक्ष डा कँडेलले अब प्राविधिक अध्ययन गरेर मात्रै द्रूतमार्गसँग मदन भण्डारी मार्गलाई कहाँ र कसरी जोड्न सकिन्छ टुंगो लाग्ने बताए। उनले दुई द्रूतमार्गलाई जोड्नु उपयुक्त हुने र त्यसका लागि प्राविधिकहरुको अध्ययनले अन्तिम निष्कर्ष निकाल्ने उल्लेख गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्