काठमाडौं, कार्तिक ८ । बडादशैँका वेला राजधानीको वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । शनिबारदेखि कोजाग्रत पूर्णिमासम्म बिहान ९ः०० बजेदेखि ११ः०० बजेसम्म भौतिक दूूरी कायम गरेर कुमारीको दर्शन गर्ने व्यवस्था गरिएको कुमारीघरका गौतमरत्न शाक्यले जानकारी दिएका छन् ।
पाटनकी गणकुमारी भने सार्वजनिक रूपमा प्रस्तुत नहुने जनाइएको छ । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।
कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरका प्रमुख राजन भुजु बताउन्छन ।
किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवारी बस्तीमा रहेका अन्य कुमारी पनि घरमै रहनेछन् ।वसन्तपुरस्थित काठमाडौँ दफ्तर क्लवका अध्यक्ष राकेश शाहीले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गरेका छन् ।
वसन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ भने नेवारी वस्तीमा प्रचलनमा रहेका कुमारीको छुट्टै महत्व छ ।
भक्तपुरको एकान्तकुमारी भने घरमै रहने जनाइएको छ । भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीका अनुसार सर्वसाधारणले कुमारीको दर्शन नपाउने आजको गोरखापत्र दैनिकमा खवर छ ।