Logo

अफगानिस्तानको एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण, कम्तीमा १८ जनाको मृत्यु



एजेन्सी, ९ कार्तिक। अफगानिस्तानको एक शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् भने मर्नेको संख्या अझैँ बढ्ने आशंका रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

यो आक्रमण एक निजी शैक्षिक संस्थाको भवनमा भएको हो, जसले उच्च शिक्षाको कयौँ कोर्श गराउँदै आएको छ ।

शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो । जहाँ सयौँ मानिसहरु हुन्छन् ।

इस्लामिक स्टेट समूहले सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै आक्रमणको जिम्मा लिएको छ तर कुनै प्रमाण भने पेश नगरेको जनाइएको छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै भने, एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस गरेका थिए । सुरक्षाकर्मीहरुले उसलाई चिनेर रोके । त्यसपछि त्यो व्यक्तिले भवनको ढोकामै विष्फोट गराएको थियो ।

हालैका दिनहरुमा अफगानिस्तानमा हिंसा बढेको छ । अधिकांश आक्रमण तालिबान समूहले गरेको छ ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्