Logo

सोमप्रसाद पाण्डेको प्रश्न : कसले भन्यो नेकपाभित्र विवाद छ भनेर ?



काठमाडौं, ९ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, सांसद तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टीभित्र हुने छलफल तथा बहसलाई विवाद भयो भनेर भन्न नहुने बताएका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘यो पार्टी विचारको गतिशिल पार्टी हो । आफ्नो कुरा राख्ने कुराहरु रहिरन्छ । हामीले आफ्नो पदीय दायित्व बहन गरेका छौं । अलिक छलफल नगरे कसरी पार्टी चल्छ त ? यो खालको परिस्थिति सिर्जना भएको हो कि भन्ने लागिरहेको छ । गम्भीर अवस्था होईन् ।’

उनले नेकपाको कर्णाली प्रदेशको विवाद पनि मिलिसकेको स्पष्ट पारे । उनले भने,‘त्यहाँको विवाद एउटा टुँगोमा पुगेको छ । सरकार सञ्चालन अब मुख्यमन्त्रीले गर्ने हो, अहिले मुख्यमन्त्री फेरबदल नगर्नेगरि टुँगो लागेको छ। कर्णालीको विवाद सेफल्याण्डिङ भयो ।’  कर्णालीको विवादले केन्द्रमा भुसको आगोजस्तै विवाद देखियो नि ? भनेर पत्रकार धमलाले गरेको प्रश्नमा उनले भने,‘भुसाको आगोभन्दापनि सिधै नेताहरूले बोलाएर सोध्नुभयो । उहाँहरुले जुन किसिमको विवाद प्रक्रिया भयो उचित छैन् भनेर सोध्नुभयो । प्रधानमन्त्रीले पनि यसबारेमा टुँगो लगाएर जाऔं भन्नुभयो । सहमतिको साथ अघि बढौं भन्नुभएको हो ।’

उनले प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति भएको भन्दापनि नेताहरुबीच कुराकानी हुनु नौलो विषय नभएको जिकिर गरे । उनले भने,‘पार्टी एकता भैसकेको छ । अर्का अध्यक्ष दाहाल बालुवाटारमा ओलीसँग धेरै पटक कुराकानी भैरहेको छ । कुराहरु नमिलेको पनि हुनसक्छ ।’



प्रतिक्रिया दिनुहोस्